पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत रू ८० करोड रहेको छ ।

पन्थडिहीदेखि साहिलटारसम्मको झन्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ । बुड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवं सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दूधपोखरी नगरपालिकाका विभिन्न क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्यान्वयनमा विशेष पहल गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । उनले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । उहाँले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताए ।

उनले तिनै तहको सरकारमार्फत देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए । प्रधानमन्त्री दाहालले नेपालको विकासको मोडालिटीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याए । सडकको विकासले मात्र समृद्धि हुन नसक्ने भन्दै उनले कृषि, शिक्षा, रोजगारीसँग जोडेर सडक निर्माण गर्न सकेमात्र विकासले फड्को मार्ने बताए ।

You might also like

Comments are closed.