पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले विद्यार्थीमा शिक्षण सिकाइ क्रियाकलापमा उत्प्रेरणा जगाउने कार्यक्रम गरेको छ । नवआगन्तुक विद्यार्थीका लागि एक कार्यक्रमकाबीच स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरी प्रतिभामा कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि सोमबार कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्याक्रमको उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि आचार्यले पोखरा विभिन्न तरिकाले परिचित भइरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । यहाँ उत्कृष्ट विद्यालयहरु सञ्चालन भएको अवस्थामा पोखरा शिक्षाको राजधानी बन्दै गएको आचार्य बताउँछन् ।
“पोखरा पर्यटकीय राजधानी भनिएजस्तै पोखरा शैक्षिक राजधानी पनि बनिरहेको छ । ठूला र उत्कृष्ट विद्यालयले पोखराको शैक्षिक पहिचान फराकिलो बनाईरहेका छन” आचार्यले भने । जीवनको गोरेटो कस्तो बनाउने भन्नेमा विद्यार्थी आफैले ध्यान दिनुपर्ने आचार्यको सुझाव छ ।
कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जिन्दगीमा सुख दुःख धेरै हुने भएपनि प्रगतिशिल हुन र विद्यार्थीलाई सकारात्मक सोँच राख्न पनि सुझाव दिए ।
“जिन्दगीमा सुख दुःख धेरै नै हुन्छन्, त्यसैले प्रगतिशील हुनुपर्छ । सधैं सकारात्मक सोचौं, त्यसो भयो भने सफलता हात पार्छ” उनले भने, “विद्यार्थी सफल हुनका लागि उनीहरुमा मेहनत जरुरी छ, विद्यार्थीले मेहनतका साथ अध्ययन गर्ने हो भने लक्ष्यमा पुग्न सहज हुन्छ ।”
कार्यक्रममा प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पूरा गर्नका लागि विद्यालय सधैँ तयार रहेको बताए । विद्यार्थीले आफुले आफुमा भएको क्षमता पहिचान गर्न नसक्दा कहिलेकाँही समस्या हुने गरेको प्राचार्य सापकोटा बताउँछन् ।
“आफैले आफैलाई चिन्न नसक्दा कहिलेकाँही गलत दिशातिर जान सकिन्छ, त्योबेला सचेत हुनुपर्छ” उनले भने, “आफ्नो क्षमता आफैले पहिचान गर्ने हो, क्षमता बुझेर अघि बढ्नुपर्छ ।” प्राचार्य आचार्यले आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट नरोकिन विद्यार्थीलाई सुझाव पनि दिए ।
कार्यक्रममा गायिका समीक्षा अधिकारीले विभिन्न गीत गाएर मनोरञ्जन दिएकी थिइन् । अधिकारीले पोखरामै उत्कृष्ट शैक्षिक संस्थाको प्रतिभाले बनाएर पहिचानले सिंगो गण्डकी प्रदेशकै गौरव बढाएको जनाइन् ।
सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने भएकाले समय अनुसारको शिक्षा दिलाउन विद्यालय लागिपरिहेको जनाए । “प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ, आगामी दिनमा ती प्रतिभा अझै थपिनेछन्” उनले भने, “विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौँ ।”
कार्यक्रममा एसइईमा ४ जिपिए ल्याएर प्रतिभामा भर्ना भएका विद्यार्थीलाई समेत सम्मान गरिएको छ । नवआगन्तुत विद्यार्थीसहित उनीहरुका अभिभावक पनि सहभागिता रहेको थियो । मंगलबार विज्ञान विषयका विद्यार्थीका लागि पनि कार्यक्रम आयोजना गर्ने विद्यालयले जनाएको छ ।
Comments are closed.