बालबालिका आफैमा काँचो माटो हुन् । त्यस माथि प्रारम्भिक बाल अवस्था त झनै संवेदनशिल अवस्था हो । यो उमेर समूहमा बालबालिका आफ्ना रुचिकर गतिविधिहरुमा व्यस्त रहन चाहन्छन् । यो अवस्थामा घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने सिकाउने कार्यले उनीहरुको वौद्धिक विकासलाई सकारात्मक प्रभाव पारेको हुन्छ ।समय र आवश्यकताले प्रारम्भिक अवस्थाका बालबालिका पनि संस्थागत रुपमा खोलिएका सिकाई केन्द्रमा पुगेर बालसुलभ चेतलाई अभ्यासगत रुपमा अगाडि बढ्न चाहन्छन् । ने
पालको हकमा सरकारी विद्यालयको इसिडि, निजी क्षेत्रका ‘प्ले ग्रुप’ ‘चाइल्ड केयर’ ‘डे केयर’ ,‘प्रि–स्कूल’ लगायतले बालबालिकालाई सहजीकरण गर्दै आएका छन् ।औपचारिक अध्ययन ६ वर्षको उमेर पछि मात्र भएपनि त्यतिबेलासम्म बालबालिकाले धेरै कुराको जानकारी हासिल गरिसकेका हुन्छन् । उनीहरुको सिकाई र बुझाईको जग उनीहरु विद्यालयका औपचारिक रुपमा प्रवेश गर्ने बेलासम्ममा बसिसकेको हुन्छ । तथापि अभिभावककले उपलब्धता र आफ्नो क्षमताले भेट्ने ठाउँमा लगेर भर्ना गर्ने र सम्बन्धित सिकाई केन्द्रले सिकाउने औपचारिकता पुरा गर्ने मात्र गरेको अवस्था धेरैतिर देखिन्छ ।
बालबालिकाको अधिकांश मानसिक विकास हुने यो अवधिमा उनीहरुलाई कस्तो वातावरण दिने र सिकाउने कुरामा प्राथमिकता दिने भन्ने कुरामा हामी बेखबर बन्दा त्यसको दीर्घकालिन प्रभाव कस्तो रहला ? भविष्यमा उनीहरुलाई कस्तो बाटोमा लैजाने र कस्तो कुरा सिकाउने भन्ने कुरा यही उमेर समूहमा हुन्छ ।
अभिभावक मात्र होइन, यो अवस्थाका बालबालिकाको सिकाई व्यवस्थापनको जिम्मा राज्य आफैले पनि लिन आवश्यक छ । तर जिम्मा लिने त कता कता यो क्षेत्रमा काम गर्दै आएका संस्थाको नियमन गर्न समेत राज्यले सकेको छैन । नियमन हुन नसक्ने भनेकै राज्यको चासो कम पर्ने भन्ने बुझिन्छ । दीर्घकालिन प्रभाव पर्ने यस्ता विषयमा राज्य बेखबर बन्दा भोलि उत्पन्न हुने असहज अवस्थाको जिम्मेवार को बन्छ ?
यस क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रको गलत नियत नहोला तर उनीहरुको क्षमता र कमजोरीका कारण अबोध बालबालिकाको भविष्यप्रति असंवेदनशिल बन्ने छुट कसैलाई पनि छैन ।
भौतिक विकासको कुरा कुनै समयमा गएर सल्टन सक्छ अथवा त्यसको अभाव विस्तारै सुधार्न सकिन्छ । तर एक जना बालबालिकाको पनि भविष्य अन्यौलमा पर्न दिने अवस्था कल्पना गर्न सकिने कुरा होइन । त्यसैले समयको माग अनुसार उपयुक्त नीति र कानुन बनाएर यस क्षेत्रमालाई अझै सबल, सक्षम र गुणस्तरयुक्त बनाउनेतर्फ राज्य र नीजि क्षेत्र सबैको उत्तिकै ध्यान जानु जरुरी छ ।
Comments are closed.