बालबालिकको सर्वाङ्गिण विकासको काँध थाप्दै ‘प्रि–स्कूल’

काठमाडौं। काठमाडौंको एक निजी बैंककी जागिरे सविना कार्की बिहान ९ नबज्दै घरबाट कार्यालय निस्किन्छिन् । घरबाट निस्कने बेला उनले आफ्नो ३ वर्षको छोरालाई घर नजिकको पूर्व प्राथमिक विद्यालय (प्रि-स्कूल) मा लगेर छाड्छिन् । गैर सरकारी संस्थामा काम गर्ने उनका श्रीमान् कमै घरमा बस्छन् । घरमा बच्चा रेखदेख गर्ने कोही नभए पछि प्रि-स्कूल उनको लागि सहयोगी भएको छ । ‘पहिले पहिले अलि गाह्रो मान्थ्यो अहिले रमाउँछ, स्कूलमा लगेर छाडेपछि दिनभर ढुक्क’, २ वर्षको उमेर देखि प्रि-स्कूलमा भर्ना गरिदिएको बताउने उनले भनिन्, ‘हेरचाह पनि भएको छ, केही सिकेको पनि छ ।’

सविनको मात्र होइन, अहिले तोतेबोली बोल्दा नबोल्दै यस्ता मन्टेश्वरी शिक्षण सिकाईका आधारित प्रि-स्कूलमा अधिकांश बालबालिका पुग्छन् । यो धेरैको आवश्यकता, देखासिखी देखि समयको माग पनि बनेको छ । सामान्यत औपचारिक शिक्षा आरम्भ ६ वर्ष पछि मात्र हुन्छ तर २ वर्ष नपुग्दै स्कूल पठाउनुपर्ने वाध्यता किन सिर्जना हुन्छ ? मन्टेश्वरी शिक्षण पद्धतिलाई नजिकबाट बुझेकी अक्षरा स्कूलकी प्रिन्सिपल अन्जु भट्टराई पढाई भन्दा पनि प्रि-स्कूल खेल्दै, रमाउँदै सिक्ने थलो भएको बताउँछिन् । उपलब्ध स्थानीय सामाग्रीको प्रयोग गरेर एकिकृत सीप विकास गर्नको लागि प्रि-स्कूलले भूमिका निभाउने उनको भनाई छ ।

प्रि-स्कूलको भूमिका धेरै महत्वपूर्ण रहेको उनको भनाई छ । यस्ता स्कूलले आफूलाई मन्टेश्वरी दावी गर्दै आएपनि नेपालमा कुनै पनि प्रि-स्कूल मन्टेश्वरी अवधारणामा जान नसकेको उनको भनाई छ । ‘मन्टेश्वरी धेरै व्यवस्थित सिकाई पद्धति हो, यसको लागि आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्नै गाह्रो हुन्छ । हाम्रोमा भएका कुनै पनि मन्टेश्वरी होइनन् तर केही अवधारणा अवलम्बन मात्र गरिएको हो’, उनले भनिन् । तथापि यस्ता स्कूलले पुराएको योगदानलाई बिर्सन नहुने उनको भनाई छ । उनले भनिन्, ‘पर्याप्त छैन होला तर बालबालिकालाई धेरै व्यवहारिक सीप, ज्ञानको विकासको लागि प्रि-स्कूलले सहयोग गरेकाछन् ।’

jutta mela

मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) का अध्यक्ष बद्रीप्रसाद दाहाल प्रि–स्कूलले बालबालिकाको फाउण्डेसन समयको व्यवस्थापन गरेको बताउँछन् । ‘बालबालिकालाई यो उमेर समूहमा पोषणयुक्त खानेकुरा, पुरा खेल्ने समय, संवेगात्मक र समाजिक विकासलाई समानान्तर रुपमा लैजान सक्ने हो भने सबै किसिमले बालबालिका सक्षम बन्न सक्छन्’, उनले भने ‘प्रि–स्कूलले बालबालिकाको भविष्यको जग बसाल्न सहयोग गरेको छ ।’बालबालिकाको बौद्धिक विकास, समाजिक विकास, संवेगात्मक विकास, खानपान लगायतका कुरामा प्रि–स्कूलले एक खालको योगदान पुराइरहेको उनको दावी छ ।

‘कुनै एक निजी क्षेत्रको शैक्षिक संस्थाले आफैले चाहाँदैमा सबै अवधारणामा काम गर्न संभव छैन । तथापि संभव भएसम्म बालबालिकको स्याहारसुसार, व्यवहारिक सिकाई, खानपान लगायतमा गरेको सहयोगले उनीहरुको विकासमा सहयोग त पुगेको छ नै उनीहरुको अभिभावकले त्यो समय रोजगारी तथा उद्यमशिलतामा समय दिएर आर्थिक उपार्जनमा समय दिन पाएकाछन् ’, उनले भने ।

उनले प्रि–स्कूलको स्तरीकरणमा राज्यले भूमिका निभाउनुपर्ने बताउँछन् । ‘हामी हाम्रो मानक राज्यले बनाइदिओस् भन्ने चाहान्छौं । विभिन्न श्रेणी, सुविधा, शुल्क निर्धारण पनि त्यही अनुसार हुनुपर्छ तर छुट्याउने संयन्त्र आवश्यक छ, जसरी बालबालिकाको उज्जवल भविश्य प्रति जिम्मेवार भएर निजी क्षेत्रले अर्बौं लगानी गरेकाछन् , यसलाई राज्यले व्यवस्थित बनाउनको लागि चासो देखाउनुपर्छ’, उनले भने ।

अपेनका महासचिव कृष्ण प्रसादबोहरा प्रि–स्कूलमा समग्र रुपमा निजी क्षेत्रको लगानीमा रहेको र लगानीको अधारमा स्रोत र साधन सहितको वातावरण निर्माण भएको बताउँछन् । उनी भन्छन् , ‘प्रि–स्कूलको लागि आवश्यक पर्ने आधारभुत कुरा के हो भन्ने कुरामा प्रायः सबै प्रि–स्कूल सचेत छन् । बच्चालाई खेल्ने ठाउँको व्यवस्थापन, खेल्दा खेल्दै थाकेको अवस्थामा सुत्ने व्यवस्था, स्वास्थ्यवद्र्धक खाजा तथा खानाको व्यवस्था, दैनिक, घरायसी देखि सांस्कृतिक सहभागिता प्रति जिम्मेवार रहेर संचालनमा आएका प्रि–स्कूललाई हाम्रो समग्र अवस्थालाई विश्लेषण गर्दा हामीले राम्रो नै मान्नुपर्छ ।’
५ वर्षमुनीका बालबालिकाको क्षेत्रमा काम गर्नु भनेको राज्यको अबको २५ वर्ष पछिको सक्षम नागरिकको जग बसाउने काम भएको उनको भनाई छ । ‘बालबालिकाको शारीरिक, मानसिक, भाषिक, सांस्कृतिक विकासलाई अगाडि बढाउँदै गर्ने जिम्मेवारी प्रि–स्कूलको छ’, उनले भने, ‘अहिलेको शैक्षिक वातावरणलाई हेर्ने हो भने प्रि–स्कूलबाट आएका बालबालिका सिर्जनशिल, निडर, नेतृत्व लिन मन पराउने, विशेष गरी एकेडेमिक रुपमा पनि एक तहको बलियो जग बनाएर कक्षा १ मा भर्ना हुन गएका छन् ।’

You might also like

Comments are closed.