जनतालाई सुशासनको अनुभूति गराउने प्रतिबद्धता

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनतालाई सुशासनको अनुभूति गराउने बताएको छन् ।

मोरङ व्यापार सङ्घद्वारा स्वदेशी उत्पादन प्रवद्र्धन गर्न शुक्रबार देखि विराटनगर–२ मा सञ्चालित ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री आलेले मुलुकमा आर्थिक अनियमितता रोक्न सरकारले सक्दो पहल गरिररहेको बताए । उनले आगामी बुद्धजयन्तीका दिनदेखि भैरहवा तथा पाँच महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख गरे । उनले गठबन्धन दलहरु आगामी निर्वाचनमा संयुक्त रुपमा जाने बताए ।

jutta mela

प्रदेश नं १ स्वास्थ्यमन्त्री जयराम यादवले जात र धर्म नभनी मुलुकको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमख भीम पराजुलीले नगरमा पाँच वर्षको अवधिमा १ सय ५० किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिए ।

सङ्घीय सांसद एवं पूर्वमन्त्री मीनेन्द्र रिजालले विकासमा नगर पछाडी परेकामा चिन्ता व्यक्त गर्दै मुलुकको दोस्रो ठूलो सहर बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष नवीन रिजाल, एक्स्पो संयोजक विकासकुमार बेगवानी, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले प्रदर्शनीस्थल निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।

यही चैत २६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा कृषि उत्पादन, घरेलु, साना, मझौला तथा ठूला उद्योगद्वारा उत्पादित वस्तुका अतिरिक्त मुलुकको महत्व झल्किने कला, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खनिजजन्य, कृषिजन्य तथा औद्योगिक उत्पादन, अटोमोबाइलको प्रदर्शनी एवं बिक्री कक्ष राखिएको छ । एक्स्पोमा झण्डै ३ सय कक्ष रहेका छन् । एक्स्पो अवधिभर ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष रिजालले बताए ।

You might also like

Comments are closed.