प्रदेश १ को मन्त्रालयगत छलफल सकियो

मोरङ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ। बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भू-संरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवेगुले पाँचथरका पर्यटन स्थलको विकासबारे रातो किताबमा उल्लेख नभएको भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले सुनसरीको मोरङ औद्योगिक करिडोरका उद्यमीको माग सम्बोधन गर्न सदनको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य ज्योति सुब्बाले दुहवी–इनरुवा सडक चार लेनको निर्माण गरी त्यस क्षेत्रमा उद्यमीलाई आकर्षित गर्नुपर्ने बताए ।

त्यस्तै प्रदेशसभा सदस्य नवोदिताकुमारी चौधरीले बजेट विनियोजनमा महिला सदस्यलाई अपहेलना गरेको गुनासो गरे । प्रदेशसभा सदस्य पूर्णप्रसाद राई याम्फुले सङ्खुवासभामा तामा र ढुङ्गाखानीको आवश्यक अन्वेषण र उत्खनन् गर्न सुझाव दिए ।

jutta mela

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले प्रदेशका पर्यटन क्षेत्रका महत्वपूर्ण गन्तव्य सूची तयार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सुझाव दिए । प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले मुलुकको दिगो एवं ठोस विकासको आधार पर्यटन भएकाले  यसमा आवश्यक  योजना र बजेट नआएको चर्चा गरे ।

प्रदेशसभा सदस्यहरु रामबहादुर मगर, लछुमन तिवारी, लिला सुब्बा र सर्वध्वज साँवाले विभिन्न विषयमा सम्बन्धित मन्त्री तथा सदनको ध्यानाकर्षण गराए । यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु विमल कार्की, राजकुमार ओझा, राधा थापा, शान्ता पौडेल र सूयर्माराज राईले वर्षाका कारण डुबानमा परेका जनताको उद्धार र राहत तथा सुकुम्बासीलाई जग्गा धनी पूर्जा वितरण र प्रदेश नामकरण गर्न सदनको ध्यानाकर्षण गराएका थिए । उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको अर्को बैठक असार १५ गते बिहान ११ः३० बजे बस्ने सदनलाई जानकारी गराए ।

You might also like

Comments are closed.