महिलालाई रोजगारी प्रदान गर्ने उदेश्यले दमौलीमा खुल्यो पूजा सामग्री उद्योग

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याएकी छन् । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याएकी हुन् ।

उद्योगबाट ८५ महिलाले रोजगारी पाएको गौलीले जानकारी दिइन् । उनका अनुसार दुनाटपरी, बाँधेको धुप, सातथरि काठको दाउरा, पोते, डोरी, टीकालगायतका सामग्री उत्पादनका लागि ती महिलालाई रोजगारी दिइएको छ । “निकट भविष्यमा नै तामा, चरेश, चाँदी र माटोबाट निर्माण गरिने सामग्री पनि उत्पादन गर्ने लक्ष्य छ”, गौलीले भनिन् ।

उक्त उद्योगबाट ५०० महिलालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको उनले बताइन् । दमौली बजारका विभिन्न आमा समूहले उत्पादन गरेका दुना टपरी उक्त उद्योगले खरिद गर्ने गरेको छ । हाल बजारमा दुना टपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “फुर्सदिला कम्तीमा ५०० महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका पूजा सामग्रीको हाते उद्योग सञ्चालन गरेको हुँ”, गौलीले भनिन् ।

व्यास–१ गल्वुबेँसीस्थित नव आदर्श आमा समूहले दैनिकरूपमा उत्पादन भएका दुना टपरी उक्त उद्योगलाई बिक्री गर्ने गरेको छ । आमा समूहका १४५ महिलाले टपरी बुन्न थालेका छन् । उक्त उद्योगको शनिबार नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख न्यौपानेले महिलालाई स्वरोजगार बनाउन आवश्यक तालिम नगरपालिकाका तर्फबाट सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

रोट¥याक्ट क्लब अफ दमौलीले वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । क्लबले ‘५३औँ विश्व रोट¥याक्ट डे’को अवसर पारेर आश्रमलाई सहयोग गरेको छ । आश्रमलाई नगद रु सात हजार सात सहयोग गरेको रोट¥याक्ट क्लब क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा आश्रममा क्लबले केक काटेर ज्येष्ठ नागरिकसँग रोट¥याक्ट डे मनाएको क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठले जानकारी दिए । रोटा सप्ताहमा क्लबले हरेक दिन विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । क्लबले स्वागत ब्यानर परिवर्तन, पञ्चमन्दिर सरसफाइ, मैत्रीपूर्ण फुटसल प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए ।

You might also like

Comments are closed.