राजधानीको प्रज्ञा भवनमा आयोजित एउटा कार्यक्रममा पुगेको थिएँ । मञ्चमा कार्यक्रमका अतिथि तथा वक्ताहरु थिए । मञ्चविमुख सहभागीहरु ठेलमठेल थिए । दशर्कदीर्घा र मञ्चको बीचमा रहेको खुल्ला भागबाट मात्रै होइन खाली बाटोमा राखिएका स्ट्याण्डबाटसमेत मञ्चतर्फ क्यामरा तेर्सिएका थिए । प्रेसको ज्याकेट लगाएका केही पत्रकारले मोबाइलबाट मञ्चको पोडियमतर्फको भाषण कैद गरिरहेका थिए । त्यहीबीचमा मैले झोलाबाट मोबाइल निकालेर डाटा मात्रै के अन गरेको थिएँ नोटिफिकेसनहरु बज्न थाले । फेसबुक खोलेर नोटिफिकेसन हेर्दा राजधानीका प्राय टेलिभिजन र अनलाइनहरुले त्यही कार्यक्रम फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिरहेको देखेँ ।
म सहभागी त्यो कार्यक्रमको गतिविधि हलमा भएकाहरुको मात्रै पहुँचमा थिएन । स्मार्ट फोन लिने र इन्टरनेशनको पहुँचमा रहेकाहरु देश विदेश जहाँबाट पनि त्यो कार्यक्रम प्रत्यक्ष हेर्ने अवसर डिजिटल पत्रकारिताले प्रदान गरेको थियो ।
केही अगाडिको पुस्ताले कपीमा समाचार लेखेर आफू आबद्ध सञ्चार माध्यममा फ्याक्स गर्ने गरेको हामीले सुन्दै आएका थियौं । अझै अगाडि आकाशवाणीको सहायताले समेत समाचार टिपाइन्थ्यो । क्रमशः पत्रकारिताको अभ्यास परिवर्तन हुँदै अहिले डिजिटलाइज भइसकेको छ । भोलि होइन आज नै हामीलाई समाचारमा पुहँच चाहिएको छ । आज पनि केही समय पछि होइन तत्काल जनचासोको विषयको समाचारमा आम सर्वसाधरणको पहुँच छ । यसका पछाडि डिजिटल पत्रकारिताको प्रमुख योगदानलाई नकार्न सकिदैन ।
अहिलेको पत्रकारितालाई डिजिटल पत्रकारिताले लिड गरेको छ भन्दा फरक पर्दैन । यसैको उदाहरण हो सबै पत्रिका, टेलिभिजन, रेडियोहरु पनि अनलाइनमा गइसकेका छन् । उनीहरुले अनलाइनकै माध्यमबाट तत्काल समाचार सार्वजनिक गर्छन् ।
समय अनुसार पत्रकारिताको स्वरुप पनि परिर्वतन हुँदै आएको छ । छापा, रेडियो तथा टेलिभिजन हुँदै अहिले डिजिटल माध्यम लोकप्रिय बनिरहेको छ । समाचारमात्रै होइन फिचर तथा विचारहरु पनि अनलाइन मिडियामार्फत प्रकाशन, प्रशारण भइरहेका छन् । अडियो र भिडियो पनि अनलाइनबाटै पाठक, स्रोता तथा दर्शक माझ पस्किन्छ । यसको अर्थ यो हो कि डिजिटल पत्रकारिता सशक्त माध्यम बनिसकेको छ । पत्रकारहरुको आकर्षण पनि अहिलेको समयमा डिजिटल माध्यमर्म बढि देखिएको छ ।
नेपालमा दिनप्रतिदिन डिजिटल मिडियाको संख्या बढिरहेको छ । प्रेश काउन्सिलमा र सूचना तथा प्रशारण विभागमा सुचिकृत भएका अनलाइन माध्यमको संख्या करिव २५ सय पुगिसकेको छ । यसले पनि डिजिटल मिडियाप्रतिको बढ्दो आकर्षणलाई देखाउँछ ।
डिजिटल मिडिया सबैको रोजाई बनिरहँदा यसले भित्र्याएका विकृतिलाई पनि हामीले भुल्नु हुँदैन । छिटो छिटो समाचार प्रकाशन तथा प्रशारण गर्ने होडबाजीका क्रममा तथ्यहीन र अविश्वसनीय समाचार पनि आउने गरेका छन् । जसले भ्रम पैदा गर्ने गरेका प्रशस्त उदाहरण हामीमाझ छन् । भ्रमपूर्ण तथा तथ्यहीन समाचार प्रकाशन गरेर अफवाह फैलाउने केही अनलाइनहरुका कारण समग्र डिजिटल पत्रकारिता माथि नै गम्भिर प्रश्न खडा भएकै छ ।
अब डिजिटल पत्रकारिताको दायरा खुम्चने कुरा कल्पनासम्म गर्न सकिदैन । यसको दायरा आगामी दिनमा अझै बढ्ने निश्चित छ । तर, डिजिटल पत्रकारिताका नाममा अफवाह फैलाउने गतिविधिलाई भने नियन्त्रण गर्नैपर्छ । अनलाइनले भन्दा युट्युवले अझ बढी अफवाह फैलाउने गरेको देखिन्छ । गलत समाचार प्रकाशन तथा प्रशारण गर्ने अनलाइन तथा युट्युवलाई नियन्त्रण गर्न सकेमा अबको डिजिटल पत्रकारिताको भविष्य उज्ज्वल देखिन्छ ।
Comments are closed.