टुहुरा बालबालिकालाई आर्थिक सहयोग

दार्चुला । नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमाबुबा गुमाएका ५४ बालबालिकालाई १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको हो ।

टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणसम्बन्धी कार्यविधि २०७८ निर्माण गरी सहयोग रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए ।

टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको उल्लेख गर्दै उनले भने, “कानुनी जटिलताका कारण यो कार्यक्रम अघि बढाउन तीन वर्ष ढिलो भयो । कार्यविधि निर्माण भइसकेकाले अब यो कार्यक्रम निरन्तर चालु रहने छ ।”

चालु आर्थिक वर्षमा कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्रको सुरुमै मासिकरुपमा अभिभावकका बैंक खातामार्फत रकम भुक्तानी गर्ने तयारी गरिएको छ ।

lcci
You might also like

Comments are closed.