काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र पहिचानको सन्देशसहित आइतबार दिउँसो १२:३० बजे काठमाडौँको ठमेलस्थित सञ्चयकोष भवनबाट ‘इन्द्रेणी गाईजात्रा र्याली’ सुरु हुँदैछ। र्यालीमा सहभागी हुन आयोजकहरूले सबै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई आह्वान गरेका छन् ।
यस वर्षको कार्यक्रम एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा विवाह दर्ता गरेका समलिङ्गी जोडीको उपस्थिति र विभिन्न अधिकारकर्मी तथा संस्थाहरूको सक्रियतामा सम्पन्न हुने भएको हो।
ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष पन्तको नेतृत्वमा २०५९ सालदेखि गाईजात्रालाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएको इतिहास छ। हरेक वर्ष ठमेलको सञ्चयकोष अगाडिबाट सुरु हुने यो परम्पराको थालनी पनि पन्तकै नेतृत्वमा भएको हो। उनले यसअघि चितवन र पोखरामा पनि समुदायसहित गाईजात्रा आयोजना गरेका थिए।
यसपटक भने सरकारी वा संस्थागत सहयोगबिनै, समुदायकै व्यक्तिगत तथा सामूहिक योगदानमा आधारित सहभागितासहित पर्व मनाइनेछ। र्याली वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन हुनेछ, जहाँ सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरू हुनेछन्। समापनमा दिवङ्गत समुदाय सदस्यहरूको सम्झनामा दियो बालिनेछ।
पन्तका अनुसार, गाईजात्रा केवल शोकको दिन मात्र नभई अस्तित्व र स्वतन्त्रताको उत्सव हो। आयोजकहरूको भनाइमा, आफ्नै परिवारले नसम्झे पनि जीवित समुदायले दिवङ्गत सदस्यहरूलाई सधैँ सम्झिरहन्छ, र गाईजात्रा उनीहरूका लागि पहिचान प्रकट गर्ने अवसर हो।
यस वर्षको कार्यक्रम मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका सङ्घसंस्थाले विदेशी सहायता वा अनुदानबिनै सम्पन्न गर्न लागेका छन्। आयोजकहरूका अनुसार, अब राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग मुखर रूपमा अघि सार्ने समय आएको छ।
Comments are closed.