वैश्विक मञ्चमा नेपाली लायन्स नेतृत्वको उदय (लायन्स अन्तर्राष्ट्रिय निर्देशकसँग संवाद)

विश्वका २०० भन्दा बढी देशमा फैलिएको मानव कल्याणको सबैभन्दा ठूलो सञ्जाल ‘लायन्स क्लब्स इन्टरनेशनल’को इतिहासमा नेपालले पुनः एकपटक गौरवशाली उपलब्धि हासिल गरेको छ । जुलाईमा हङकङमा सम्पन्न लायन्सको १०६औँ अन्तर्राष्ट्रिय कन्भेन्सनबाट नेपाली लायन्सका नेता राजन लम्साल आगामी २ वर्षका लागि विश्व लायन आन्दोलनको सर्वोच्च नीति–निर्माता अंग ‘बोर्ड अफ डाइरेक्टर्स’ मा अन्तर्राष्ट्रिय निर्देशक (इन्टरनेशनल डाइरेक्टर) निर्वाचित भएका छन् ।

बिगत लामो समयदेखि नेपालको सामाजिक सेवा, संस्थागत विकास र नेतृत्व निर्माणमा आफूलाई अब्बल साबित गरिसकेका लम्साल यस अघि एलसिआइएफ एरिया लिडर, मल्टिपल काउन्सिल चेयरपर्सन र डिष्ट्रिक्ट गभर्नर लगायतका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका अनुभवी व्यक्तित्व हुन् । सीमित स्रोत र साधनका बावजुद नेपाली लायन्सहरूले प्राकृतिक विपद्, स्वास्थ्य, शिक्षा र मानवीय सेवाका क्षेत्रमा देखाएको अद्वितीय योगदानलाई वैश्विक स्तरमा स्थापित गराउन र नीतिगत तहमै नेपालको तार्किक आवाज बुलन्द गर्न उनको यो कार्यकाल निकै महत्वपूर्ण मानिएको छ ।

संख्यात्मक वृद्धिसँगै सेवाको गुणात्मकता र दिगोपनलाई कसरी लैजाने ? युवा पुस्ता (लियो) लाई कसरी ‘Partnars in Service’ को रूपमा स्थापित गर्ने ? सामाजिक संस्थाहरूमा आर्थिक पारदर्शिता तथा सुशासन कसरी कायम राख्ने ? लगायतका समसामयिक र वैश्विक रणनीतिमा केन्द्रित रहेर नवनिर्वाचित अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंश :

लायन्सको हङकङ कन्भेन्सनमार्फत यहाँ २ वर्षका लागि ‘अन्तर्राष्ट्रिय निर्देशक’ निर्वाचित भइसक्नुभएको छ । विश्वभरका लायन्सहरूको त्यो महाकुम्भ र आफ्नो ऐतिहासिक जितलाई एक नेपाली लायन नेतृत्वकर्ताका रूपमा कसरी स्मरण गर्नुहुन्छ ? यसले विश्व मञ्चमा नेपालको उपस्थितिलाई कसरी उचाइ दिएको छ ?

हङकङ कन्भेन्सन मेरो व्यक्तिगत जीवन र समग्र नेपाली लायनिजमको इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक क्षण बन्यो । विश्वभरका लाखौँ लायन्स प्रतिनिधिहरूको उपस्थितिमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्देशकको रूपमा निर्वाचित हुनु भनेको प्रत्येक नेपाली लायनको साझा गौरव र क्षमताको अन्तर्राष्ट्रिय स्वीकृति हो । विगतमा हामीले नेपाली भूमिमा देखाएको उत्कृष्ट सेवा र सबल नेतृत्वकै कारण आज विश्व मञ्चले नेपाललाई यो गरिमामय स्थान सुम्पेको हो । यो जितले विश्व मञ्चमा नेपाल केवल सेवा प्राप्त गर्ने देश मात्र होइन, विश्व लायनिजमलाई नीतिगत रूपमै हाँक्न सक्ने क्षमता भएको देश हो भन्ने स्पष्ट सन्देश दिएको छ । यसले विश्व मानचित्रमा नेपालको गरिमा र उपस्थितिलाई नयाँ उचाइमा पु¥याएको छ ।

लायन्स अन्तर्राष्ट्रियको ‘बोर्ड अफ डाइरेक्टर्स’मा पुग्नुभएको छ । विश्व मञ्चमा नेपालको लायनिजम र यहाँको मौलिक सेवा भावलाई कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?
नेपालको लायनिजमको सबैभन्दा बलियो पक्ष भनेको हाम्रो मौलिकता, ‘अतिथि देवो भवः’ एवं ‘परोपकाराय पुण्याय’ भन्ने नेपाली संस्कृति हो । अन्तर्राष्ट्रिय बोर्डमा रहेर मैले नेपालका कुना–काप्चामा रहेका क्लबहरूले सीमित साधनस्रोतका बावजुद पनि देखाएको अद्वितीय सेवा भाव र समर्पणलाई वैश्विक रूपमा ब्रान्डिङ गरिरहेको छु । हामीले नेपालमा सञ्चालन गरेका समुदाय–केन्द्रित सेवा मोडेलहरू र ‘ह्यान्ड्स–अन’ सेवाको भावनालाई विश्वभरका नेतृत्वकर्ताहरूमाझ प्रस्तुत गरिरहेको छु । नेपालको मौलिक सेवा पद्धतिको जगमा टेकेर विश्व लायनिजमको नीति निर्माणमा एउटा बलियो र तार्किक आवाज बुलन्द गर्नु नै मेरो मुख्य प्राथमिकता हो ।

नेपालमा प्राकृतिक विपत्ति र स्वास्थ्य क्षेत्रमा लायन्सको भूमिका उल्लेखनीय छ । अब अन्तर्राष्ट्रिय निर्देशकका रूपमा लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (एलसिआइएफ) बाट नेपालमा अझ ठूला र बहुवर्षीय परियोजनाहरू भित्र्याउन कस्तो रणनीति लिनुभएको छ ?
एलसिआइएफ लायन्सको सेवाको मुख्य मेरुदण्ड हो । म आफैँ पनि विगतमा एलसिआइएफ एरिया लिडर भएर काम गरिसकेकाले यसको कार्यप्रणालीसँग भलीभाँती परिचित छु । अब मेरो कार्यकालमा नेपालमा साना वा तदर्थ (Ad–hoc) परियोजनामा मात्र सीमित नभई, दीर्घकालीन प्रभाव पार्ने ठूला परियोजनाहरू भित्र्याउने रणनीति छ । यसका लागि नेपालका सबै डिस्ट्रिक्टहरूसँग सहकार्य गरी सम्भाव्यता अध्ययन सहितका बलिया र व्यवस्थित प्रस्तावहरू तयार गरिँदैछ । स्वास्थ्य, शिक्षा, वातावरण र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सरकार र अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग समेत सहकार्य गर्न मिल्ने गरी परियोजनाहरू स्वीकृत गराउन म फाउन्डेसनमा प्रत्यक्ष र प्रभावकारी पैरवी गरिरहेको छु ।

लायन्समा क्लब र सदस्यता वृद्धिलाई मात्र बढी प्राथमिकता दिइयो, तर सेवाको गुणस्तर र सदस्यहरू टिकाइराख्ने क्षमतामा ध्यान दिइएन भन्ने गुनासो सुनिन्छ । बोर्डमा यो वैश्विक चुनौतीलाई सम्बोधन गर्न यहाँको दृष्टिकोण के छ ?
तपाईंले एकदमै महत्वपूर्ण र वैश्विक चुनौतीको विषय उठाउनुभयो । केवल संख्यात्मक वृद्धि मात्र होइन, सेवा र आबद्धताको गुणात्मकता आजको मुख्य आवश्यकता हो । अन्तर्राष्ट्रिय बोर्डमा मेरो स्पष्ट दृष्टिकोण ‘सदस्यता वृद्धि र दिगोपनको सन्तुलन’मा केन्द्रित छ । क्लबहरूमा नयाँ सदस्य भित्र्याउँदा उनीहरूलाई उचित अभिमुखीकरण गर्ने, उनीहरूको क्षमता अनुसारको जिम्मेवारी दिने र लायन्स भित्र अपनत्वको आभास गराउने नीतिलाई प्रोत्साहन गरिएको छ । हामीले अन्तर्राष्ट्रिय स्तरको ‘मिसन १.५’ अभियानलाई सफल बनाउँदै गर्दा सदस्यहरूको टिकाइदरलाई पनि सँगसँगै लैजाने रणनीति बनाएका छौँ ।

युवा पुस्तालाई सामाजिक सेवामा आकर्षित गर्न र लियो क्लबहरूलाई अझ बढी गतिशील बनाउन तपाईंको यो दुई वर्षे कार्यकालमा के–कस्ता नयाँ एजेन्डाहरू अगाडि बढाउनुहुनेछ ?
बदलिँदो समयसँगै युवा पुस्ता डिजिटल र नवप्रवर्तनकारी सेवामा रुचि राख्छन् । मेरो मुख्य एजेन्डा लियो क्लबहरूलाई केवल ‘सहयोगी’ संस्थाका रूपमा मात्र नहेरी, उनीहरूलाई ‘पार्टनर्स इन सर्भिस’को रूपमा स्थापित गर्नु हो । युवाहरूका लागि नेतृत्व विकासका अन्तर्राष्ट्रिय तालिमहरू, डिजिटल गभर्नेन्स, र युवामैत्री सामाजिक उद्यमशीलताका कार्यक्रमहरू अघि सारेर नयाँ पुस्तालाई लायनिजममा आकर्षित गर्ने र टिकाइराख्ने काम मेरो कार्यकालको प्राथमिकतामा रहनेछ ।

सामाजिक संस्थाहरूमा आर्थिक पारदर्शिता र आन्तरिक सुशासनको विषय महत्वपूर्ण मानिन्छ । नेपालका क्लबहरू र समग्र लायन्स संयन्त्रलाई अझ बढी पारदर्शी बनाउन अन्तर्राष्ट्रिय नेतृत्वका रूपमा यहाँको मार्गदर्शक भूमिका के रहन्छ ?
आर्थिक पारदर्शिता र आन्तरिक सुशासन कुनै पनि सामाजिक संस्थाको जीवनरेखा हो । एक अन्तर्राष्ट्रिय निर्देशकको रूपमा, मेरो स्पष्ट मान्यता छ कि लायन्स भित्र ‘जिरो टोलरेन्स’को नीति लागू हुनुपर्छ । नेपालका क्लबहरू र समग्र संयन्त्रलाई विवादरहित बनाउन डिजिटल अकाउन्टिङ प्रणाली, नियमित र निष्पक्ष अडिट गर्ने परिपाटीलाई कडाइका साथ लागू गराउन म मार्गदर्शक भूमिका खेल्दैछु । नेतृत्वमा रहनेहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रतिष्ठाप्रति पूर्ण रूपमा जवाफदेही हुनैपर्छ ।

लायन्समा महिला नेतृत्व र सहभागिता बढाउन अन्तर्राष्ट्रियस्तरबाट कस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिनुभएको छ ?
नेपालमा महिला नेतृत्वको विकास पछिल्लो समय उदाहरणीय बन्दै गएको छ । तर यसलाई अझ अर्थपूर्ण बनाउनुपर्छ । लायन्सको नीति निर्माण र माथिल्लो तहमा महिलाहरूको उपस्थिति सांकेतिक मात्र नभई निर्णायक बनाउन क्षमता अभिवृद्धि कार्यक्रम र ‘वमन लिडरसिप’ अभियानलाई मेरो कार्यकालमा थप सबल र सक्रिय रूपमा अगाडि बढाइनेछ ।

नेपालका सुदूर र विकट क्षेत्रमा खटिएका आम लायन्स सदस्यहरूलाई एउटा अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रूपमा तपाईंको सन्देश के छ ?
नेपालका कुना–काप्चामा रहेर ‘हामी सेवा गर्छौँ’ को मूल मन्त्रलाई छातीमा सजाइ अहोरात्र खटिनुभएका सम्पूर्ण आदरणीय लायन्स साथीहरू नै यो संस्थाको वास्तविक जग र मेरो शक्तिको स्रोत हुनुहुन्छ । म तपाईंहरूलाई के भन्न चाहन्छु भने, तपाईंले गाउँ वा समुदायमा गर्नुभएको सानोभन्दा सानो सेवाको कामले पनि कसैको जीवन बदलिइरहेको हुन्छ र त्यसको सम्मान अन्तर्राष्ट्रिय स्तरसम्म हुन्छ । कहिल्यै पनि आफूलाई सानो नठान्नुहोला । तपाईंहरूको यही निःस्वार्थ सेवाले नै मलाई आज अन्तर्राष्ट्रिय निर्देशकको जिम्मेवारीसम्म पु¥याएको हो । उच्च मनोबलका साथ, एकजुट भएर समाज रूपान्तरणमा लागिरहनुस्, तपाईंहरूको हरेक संस्थागत विकास र सेवाका कार्यमा म सधैँ साथमा रहनेछु ।

अन्त्यमा, आफ्नो २ वर्षे कार्यकाल सुरु भइसकेको अवस्थामा नेपालमा लायनिजमको भविष्यलाई कसरी हेर्नुभएको छ ? र, सामाजिक सेवामा जोडिन चाहने आम नागरिकहरूलाई के आह्वान गर्नुहुन्छ ?
म नेपालमा लायनिजमको भविष्यलाई लिएर शतप्रतिशत आशावादी छु । नेपालमा सामाजिक सेवाको भावना प्रचुर छ र यसलाई सही मार्गनिर्देशन गर्ने काम लायन्सले गरिरहेको छ । यो २ वर्षको कार्यकालले नेपालमा लायनिजमको एउटा नयाँ र सुवर्ण युगको आधारशीला खडा गर्नेछ, जहाँ सेवाको दायरा अझ फराकिलो, पारदर्शी र प्रभावकारी हुनेछ ।

सामाजिक सेवाको माध्यमबाट राष्ट्र निर्माणमा जोडिन चाहने आम नेपाली नागरिक र शुभेच्छुकहरूलाई म के आह्वान गर्न चाहन्छु भने, देश बनाउने जिम्मेवारी केवल सरकारको मात्र होइन, हामी नागरिकको पनि हो । लायन्स क्लब यस्तो एउटा पवित्र र पारदर्शी मञ्च हो, जहाँ तपाईंले आफ्नो क्षमता, समय र साधनको सही सदुपयोग गरेर समाजलाई योगदान दिन सक्नुहुन्छ। आउनुहोस्, हामी सबै हातेमालो गरौँ र एउरा समृद्ध एवं सेवायुक्त समाजको निर्माण गरौँ ।

You might also like

Comments are closed.