‘विद्युतीय गाडी सबै दृष्टिले प्रभावकारी छ’

राजनबाबु श्रेष्ठ, उपाध्यक्ष, नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । सरकार आफैले विद्युतीय सवारी साधनको प्रयोग बढाउन विभिन्न नीति समेत ल्याएको देखिन्छ । तथापि, यसमा सरकारको आफ्नै स्थिर नीति देखिन्न । नयाँ प्रयोगको रुपमा रहेको विद्युतीय सवारी साधनलाई कसरी दीगोपना दिने भन्ने विषयमा सम्बन्धित निकायको ध्यान नपुगेको व्यवसायीको गुनासो छ । विद्युतीय सवारी साधनमा सरकारले लिएको नीति, व्यावसायिक भविश्य र उपभोक्ताको अनुभवका सन्दर्भमा रहेर नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका उपाध्यक्ष एवं इभी समितिका सभापति राजनबाबु श्रेष्ठ सुरेन्द्र पौडेलले गरेको गरेको कुराकानीः

पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीमा आकर्षण बढेको देखिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?

पछिल्लो समय विश्वप्यापी रुपमै हेर्ने हो भने पनि सबै इ–मोबिलिटीतिर गइरहेको छ । त्यसमा नेपाल सरकारले पनि इ–मोबिलिटीलाई प्रवद्र्धन गर्न खोजिरहेको छ । हाम्रो जस्तो जलविद्युतमा सम्पन्न देशमा पावर जेनेरेशन पनि त्यही अनुसार भइरहेको छ । जुन किसिमले अहिले नेपालमा पावर जेनेरेशन भइरहेको छ, त्यो पावर के गर्ने त ? अर्कोतर्फ हाम्रो देशबाट सबैभन्दा बढी विदेशी मुद्रा खर्च हुने पेट्रोलियम पदार्थमा हो । यी दुईलाई सन्तुलन गर्नका लागि पनि सरकारले अहिले विद्युतीय (इलेक्ट्रिक) सवारी साधानलाई प्रवद्र्धन गर्ने सबैभन्दा राम्रो नीति लिएको छ ।
सरकारले यस्तो नीति लिएसँगै यसप्रति सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको छ । पहिला नागरिकमा विद्युतीय सवारी प्रभावकारी छ कि छैन भन्नेमा अन्योलता थियो । अहिले चलेका विद्युतीय सवारी साधनहरु प्रभावकारी देखिएसँगै अन्योलता हटेर गएको छ । अहिले देशभरी चार्जिङ स्टेशनहरु बनिसकेका छन् । त्यसले गर्दा अहिले विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेइकल) चार्ज गर्न पनि त्यति समस्या छैन । यसले पनि इभीप्रतिको आकर्षण एकदमै बढेर गएको छ । यहाँ समस्या उपलब्धतामा देखिएको छ । अहिले माग एकदमै धेरै भएपनि सप्लाई गर्न नसक्दा इलेक्ट्रिक भेइकलको जुन किसिमले नम्बर बढ्नुपर्ने हो, त्यसरी बढ्न सकेको छैन ।

उपभोक्ताको माग (डिमाण्ड) केमा बढी छ ?

विद्युतीय सवारीप्रति यतिबेला उपभोक्ताको डिमाण्ड एकदमै बढेको छ । संख्यात्मक हिसाबमा पनि समर्गमा हेर्ने हो भने झन्डै २ हजारको हाराहारीमा त बुकिङ मात्रै भएको छ । सबैले गाडी कुरिरहेका छन् तर, गाडी आयातकर्ताले दिन सकेका छैनन् ।

अहिले इभीमा चारपांग्रे सवारीप्रति उपभोक्ता सकारात्मक छन् । तर, दुई पाङ्ग्रेप्रति त्यति सकारात्मक भएको देखिदैन, किन होला ?
सुरुमा सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ भन्यो । त्यसबेला धेरै प्रोडक्ट यस्ता पनि आए, जुन गुणस्तर नेपालको भौगोलिक स्थितिसँग मिल्ने खालको भएन । प्रविधिको हिसाबले पनि त्यति उत्कृष्ट प्रविधि आएन । त्यसबेलाका केही विद्युतीय सवारी उपभोक्ताले चलाए । तर त्यसले राम्रो प्रस्तुति (पफमेन्स) दिन सकेन । त्यसले इलेक्ट्रिक बाइक नेपाललाई ठिक छैन कि भन्ने हल्ला फैलियो । तर, त्यो होइन । बाइक पनि धेरै ब्राण्डेड कम्पनीले निकालिरहेका छन् । जुन किसिमको उत्पादन (प्रडक्ट) अहिले निस्किरहेको छ, त्यो एकदमै उत्कृष्ट छ । त्यसको प्रभावकारिता राम्रो नहुने त कुरै हुँदैन ।

विद्युतीय सवारीप्रति आम उपभोक्ताको आकर्षण बढिरहँदा सरकारले बिगत ५ महिनादेखि सवारी आयातमा प्रतिवन्ध लगाएको छ । यसको अर्थ पेट्रोलियम इन्धनबाट चल्ने सवारीलाई प्रतिबन्ध लगाउन खोजिएको हो ?

विश्वमै हेर्ने हो भने विकसित मुलुकहरुले पनि पूर्णरुपमा विद्युतीय सवारी संचालन गर्न सकिरहेका छैनन् । अझ हाम्रो देशमा त धेरै गर्न बाँकी छ । त्यसकारण पनि मलाई लाग्छ, सरकारले अहिले नै पूर्णरुपमा आयात रोक्ने स्थिति नहोला । सरकारले अहिले जुन आयातलाई रोकिरहेको छ, त्यो जायज नभएको भन्दै हामीले सरकारसमक्ष असहमति जनाइसकेका छौं । जुन सवारीहरु आयातमा रोक लगाएको छ त्यो कुल आयातको १ प्रतिशत हो । त्यो १ प्रतिशत रोक्नुभन्दा बढी के आयात भएको त्यो रोक्नुपर्ने हो । सरकारलाई सबैभन्दा बढी राजस्व आउने भनेको गाडीबाट हो । त्यो रोकेर सरकारलाई अवश्य पनि अप्ठेरो त पर्छ नै । सवारी साधन नभइ नहुने वस्तु हो । त्यसकारण यसलाई उत्पादनशील आयातमा राख्नुपर्छ भन्ने हाम्रो माग छ । अहिले जुन विदेशी मुद्राको सञ्चिती घट्यो भनेर सरकारले निर्णय लिएको छ, त्यो सहि होइन ।

सरकारको यो निर्णयले व्यवसायीलाई कसरी असर गरिरहेको छ ?

अहिलेको असर खाली गाडी आयातकर्तालाई मात्रै पर्ने होइन । यसले त यससँग सम्बद्ध जतिपनि हुनुहुन्छ, ती सबैलाई असर पर्ने हो । अहिले गाडीको आयात बन्द भयो र व्यापार घटेपछि त्यसले सबैभन्दा बढी असर पार्टस्, बीमा संस्थान, बैंकलगायत यसले सबै इकोसिस्टममा असर पर्ने भयो । हुँदाहुँदा यसले देशको समग्र अर्थतन्त्रमा नै असर पार्छ । यही नै निरन्तर भए भोलि सबैले व्यवसाय घटाउने (विजनेश डाउनसाइजिङ) अवस्था आउँछ । विजनेश डाउनसाइजिङ भए त्यसको असर झन् बढी पर्छ । यो हुने बित्तिकै जनशक्ति घटाउनुपर्ने हुन्छ । जनशक्ति घटाउने बित्तिकै बेरोजगारको संख्या पनि बढ्छ ।

सरकारले जुन विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । त्यसलाई अब ब्याक भएर बजेटमार्फत कर बढाउने निर्णय गर्यो । यसबाट सरकार ब्याक हुने अवस्था छ कि छैन ?

यसबारे हामीले जहाँजहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ त्यहाँ कुरा राखेका छौं ।त्यो अन्तर्गत मन्त्रिपरिषद्मा एउटा निर्णय भएको थियो । त्यसमा अन्य सहुलियत दिने भनिएको थियो तर त्यसमा अझै पनि क्लियारिटी आएको छैन । त्यसका लागि सरकारले व्यवसायीको हितमा निर्णय गर्छ भन्ने विश्वास गरेका छौं ।

नेपालमा यस अघि नै रोपवे र ट्रली बसको प्रयोग भइसकेको हो । विद्युतीय सवारी इतिहाससँग जोडेर हेर्दा अहिलेसम्म आइपुग्दा के पाउनुभएको छ ?
नेपालमा इभिको शुरुवात विद्युतीय टेम्पोबाट भएको हो । तर, त्यो धेरै लामो समयसम्म रहन सकेन । प्रमुख कुरा त्यसमा जुन ब्याट्रीको टेक्नोलोजी थियो, अहिले र त्यसमा धेरै फरक थियो । त्यो एकपटक चार्ज गर्दा ५०÷६० किमी भन्दा बढी रेन्ज नदिने र चार्जिङको समय पनि धेरै लाग्ने थियो । त्यसले गर्दा यो खासै प्रभावकारी नहुँदा व्यावसायिक बन्न सकेन । तर, अहिले त्यो अवस्था छैन, प्रविधिले धेरै फड्को मारिसकेको छ । मुख्यरुपमा अहिले पनि सार्वजनिक यातायातको रुपमा विद्युतीय सवारी साधन नेपालमा आएको छ । त्यसप्रति सबै ग्राहक खुसी छन् । अहिले आधा, एक घण्टामा पूरा चार्ज हुने प्रविधि आइसक्यो । माइलेजको कुरालाई नै हेर्ने हो भने पनि एकचोटी चार्ज गर्यो भने ४÷५ सय भन्दा बढी दिन्छ । सार्वजनिक यातायातमा अब त्यो समस्या नहोला । त्यसप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । तर, व्यवसायिक विद्युतीय सवारी आर्थिक रुपमा केही महङ्गा छन् । भेइकलको मूल्य महङ्गो हुने बित्तिकै त्यसले आम्दानी त्यो अनुसारको नदिँदा समस्या आउँछ । अर्को कुरा सार्वजनिक यातायात लामो दुरीमा पनि चल्छन् । त्यसलाई जति धेरै किमी चल्ने बनायो, रेन्ज बढायो, क्षमता पनि त्यत्तिनै बढ्छ र गाडी झन् महङ्गो हुँदै जान्छ । अहिले भारतमा पनि जेसीसी मोडलमा जान सुरु गरेको छ । नेपालको केसमा अहिले नै त्यसमा गइहाल्ने अवस्था छैन । जेसीसी मोडलमा सबै कम्पनीले लगानी गर्ने र गाडी चलेर जुन आम्दानी हुन्छ, प्रति किलोमिटरको हिसाबमा कम्पनीलाई अपरेटरले पैसा दिन्छ । त्यसको ग्यारेन्टी गर्ने यहाँ कोही छैन । अहिले यहाँ सार्वजनिक सवारी साधन सकेसम्म धेरै अनुदानमा बेच्ने हो । त्यसमा अहिले धेरै संस्थाले काम गरिरहेका छन् । विस्तारै पहुँच पक्कै बढ्दै जान्छ होला । तर, त्यसमा तुरुन्तै पहुँच बढेपनि एकैचोटी धेरै बढ्दैन ।

अन्य मुलुकमा यसको अभ्यास कस्तो छ ?

चाइनामा जति पनि सार्वजनिक यातायात छन्, ती सबै सरकारले चलाइ रहेको छ । त्यहाँ सरकारले एकदमै ठुलो अनुदान दिएको छ । अन्य मुलुकमा हेर्ने हो भने पनि राम्रो अनुदान दिएर नै चलाइरहेको देखिन्छ । सबै विकसित मुलुकको यो अभ्यास हुँदा अनुदान हाम्रो आवश्यकता हो ।

तत्काल कमर्शियल भेइकलको पहुँच गाह्रो हो ?

अहिले हेर्ने हो भने अलिअलि पहुँच भएको छ । तर डिजेल गाडीको भन्दा त्यसमा आम्दानी कम हुन्छ । आम्दानी कम हुने बित्तिकै जनशक्तिमा मार पर्छ, जसले गर्दा उपभोक्तामा भार थप्नुपर्ने अवस्था आउँछ । त्यो गर्ने बित्तिकै झन् समस्या सुरु हुन्छ । त्यसकारण पनि त्यसमा अझै काम गर्नुपर्छ ।

विद्युतीय सार्वजनिक यातायातलाई प्रवद्र्धन गर्न सरकारले के–के गर्नुपर्छ ?

सबैभन्दा पहिला त इकोसिस्टम तयार गर्नुपर्छ । किनभने सार्वजनिक यातायात भनेको एउटै ठाउँमा चल्ने सवारी होइन, जहाँ पनि चल्छ । जहाँ जहाँ चल्छ त्यहाँ चार्जिङको सुविधा हुनुपर्यो । मर्मत सम्भारको लागि पूर्वाधार हुनुपर्यो । सबै ठाउँमा बत्तीको सुविधा हुनुपर्यो । त्यसकारण सबैभन्दा पहिला भौतिक पूर्वाधारमा जोड दिनुपर्यो । अर्को यो अनुदानलाई अझ राम्रोसँग लिएर आउनुपर्यो । सबैभन्दा पहिला उपभोक्तालाई बानी पार्नुपर्यो । बानी बनाउनलाई डिजलबाट यसमा सिफ्ट हुँदाखेरि उसमा भन्दा यसमा फाइदा छ है भन्ने कुरा देखाउन सक्नुपर्यो । अर्को कुरा अहिले कमर्शियल भेइकलमा वित्तीय संस्थाहरुले पनि फाइनान्स गर्न हिचकिचाइ रहेको अवस्था छ । यसमा बैंकहरुले तुरुन्तै फाइनान्स गर्न हिचकिचाउछ । जबसम्म इकोसेन्स राम्रो बन्दैन तबसम्म यो समस्या रहन्छ ।

अहिले इलेक्ट्रिक भेइकलप्रति आम मानिसको धारणा परिवर्तन भएको हो ? कसरी हेर्नु भएको छ ?

पहिला मान्छेहरुले डिजेल पेट्रोलका गाडी हेरेर अनि मात्रै इलेक्ट्रिक पनि हेरौं न भन्ने थियो । तर, अहिले डिजल पेट्रोलका नहेरेरै इलेक्ट्रिक मात्रै हेरेर गाडी किन्ने उपभोक्ता धेरै छन् । त्यसकारण इलेक्ट्रिक भेइकलप्रति मान्छेको धारणा पूर्णरुपमा परिवर्तन हुँदै गएको छ । किनभने एउटा त सरकारले पनि प्रमोशन गरिरहेको छ । अर्को कुरा यसमा अपरेटिङ कस्ट एकदमै कम छ । नेपालमा लङ ड्राइभ गर्नेहरु एकदमै कम छन् । सामान्यरुपमा दिनमा ५०÷६० किमी चलाउँछन् । त्यसले गर्दा एकपटक चार्ज गर्ने हो भने एक सातालाई पुग्छ । अर्को कुरा यसमा ड्राइभिङ गर्न पनि सजिलो छ । यी सबै कुराहरुले पनि यसमा मानिस आकर्षित हुँदै गएका छन् ।

सरकारले विद्युतीय सवारीको आयातमा कर बढाएको छ । अर्को तिर आयातै रोकेको छ, यसलाई कसरी हेर्नु भएको छ ?

इभीलाई वातावरणको हिसाबले, प्रयोगका हिसाबले र विदेशी मुद्रा जुन पेट्रोलियम पदार्थको आयात गर्दा बढिरहेको छ । त्यसलाई हेरेर सरकारले यसलाई झनै प्रवद्र्धन गर्नुपर्ने हो तर किन गरिरहेको छैन हामीले बुझ्न सकिरहेका छैनौं ।
अहिले त सप्लाइ नै छैन । सबैको बुकिङ हेर्ने हो भने अहिले २ हजारको हाराहारीमा छ । जुनबेलामा गाडी आयात भइरहेको थियो । त्यो बेलामा १०/१२ प्रतिशत इलेक्ट्रिक भेइकल भइसकेको थियो । यही किसिमले इकोसिस्टम राम्रो बन्दै गयो भने इलेक्ट्रिक भेइकलको संख्या बढ्दै जान्छ । र, सरकारको नीति राम्रो भयो भने ३ वर्षमा २५ देखि ३० प्रतिशत पहुँच हुन्छ होला भन्ने थियो । त्यसपछि फेरि नीति परिवर्तन भयो । त्यसले गर्दा अलिकति डिसकरेज भइरहेको छ ।
यसका साथै राम्रो पक्ष के छ भने सबैले अहिले इकोसिस्टममा काम गरिरहेका छन् । चार्जर सबैले लगाइरहेका छन् । सरकारले पनि त्यसमा सहयोग गरिरहेको छ । सरकारले अहिले ५० वटा चार्जर बनाउने भनेको छ, त्यसको सुरुवात भइसकेको छ । त्यो सबैले गर्दा पहुँच राम्रो बढ्छ । तर, नीति स्थिर हुनुपर्यो । सरकारले आफ्नो पोलिसीलाई निरन्तर गरेन भने समस्या त हुन्छ नै ।

चार्जिङ स्टेसनको समस्या छ भन्ने सुनिन्छ, के भन्नुहुन्छ ?

अहिलेको स्थितिमा चार्जिङ स्टेसन कम छ भन्ने मलाई लाग्दैन । किनभने जतिपति उपभोक्ताले गाडि किन्नु भएको छ, सबै आयातकर्ताले घरमै चार्जिङ गर्ने व्यवस्था गरिदिनु भएको छ । सामान्यतया सबैले घरमै चार्ज गरिराखेको हुन्छ । त्यो बाहेक मुख्य राजमार्गमा चार्जिङको व्यवस्था छ । तर मान्छेको धेरै मुभमेन्ट हुने समयमा समस्या हुन सक्ला बाँकी अन्य समयमा जति पनि चार्जिङ छ ।

नेपालमा पहिलोपटक नाडा इभी एक्स्पो हुँदैछ, यसले आगामी पुस्तालाई के सन्देश दिन्छ ?

नेपालका लागि इमोभिलिटी एकदमै राम्रो हो । हामीले इन्धन किन्नुपर्छ, जसलाई अब कम गर्नुपर्छ भन्ने कुराको हामीले प्रवद्र्धन गर्ने हो । अबको भविश्य भनेको त्यही इमोभिलिटी हो । त्यसकारण यसलाई अहिलेदेखि नै प्रवद्र्धन गर्दै लगेर मानिसलाई एउटा त इलेक्ट्रिक भेइकलका बारेमा जनचेतना अर्को यसमा कस्तो कस्तो टेक्नोलोजीहरु आइरहेको छ, त्यसको जानकारी दिने र मानिसलाई इलेक्ट्रिक भेइकलप्रति आत्मविश्वास बढाउने ताकि जुन किसिमले ग्लोबल परिवर्तन आइरहेको छ, आइसबाट इभीमा जाने त्यसमा हामीले पनि यस्तो किसिमको एक्स्पो गरिसकेपछि मानिसले यसबारे बढी बुझ्ने वातावरण होस् भन्ने हो ।

You might also like

Comments are closed.