दुधको लागत मूल्य घटाई उत्पादन बढाउन आवश्यक छ

रमेश सन्जेल, महासचिव, नेपाल डेरी फार्मर्स एसोसिएसन

दूध यस्तो खाद्य पदार्थ हो जुन बालकदेखि वृद्धसम्म सबैका लागि अत्यावश्यक मानिन्छ । यसमा भिटामिन, प्रोटिन, क्याल्सियम लगायत शरीरका लागि आवश्यक सम्पूर्ण पोषण तत्व पाइन्छ । त्यसैगरी, दूध नेपाली किसानहरूको दैनिक जीविकोपार्जनको मुख्य स्रोत हो। दैनिक करोडौँ रुपैयाँ सहरबाट गाउँसम्म भित्र्याइन्छ र उद्योग स्तरदेखि किसान स्तरसम्म लाखौं मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यसमै निर्भर छन् । दूधले कुल ग्रामीण उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

तर पछिल्ला वर्षहरूमा दूधको कुल लागत मूल्य दिनानुदिन बढ्दै गएको छ । यदि लागत मूल्य धेरै भएको कारण आम नागरिकले दूध खरिद गर्न नसक्ने भए, त्यसको असर सिधै उपभोक्ता, उद्योग, किसान र सरकार सबैमा पर्छ। उद्योगहरूले दूध संकलन घटाउँदा उपभोक्ताले आवश्यक दूध पाउँदैनन् र किसानको आम्दानीमा पनि असर पर्छ। यसैले दूधको लागत मूल्य घटाउनु अत्यावश्यक छ ।

दूधको लागत कम गर्ने र उत्पादन बढाउने उपायः
  • उच्च उत्पादन दिने जातका गाई–भैँसीहरू जस्तै जर्सी, होलिस्टन, मुर्रा जातका ब्रिडहरूलाई कृत्रिम गर्भधारण मार्फत स्थानीय गाई–भैँसीमा क्रस ब्रिड गराउन सकिन्छ । यसले दूध उत्पादनमा उल्लेखनीय वृद्धि ल्याउनेछ ।
  • किसानहरूले गाउँबाट सहरको सानो जग्गामा धेरै गाई–भैँसी पालन गर्ने चलनलाई निरुत्साहित गर्दै, पकेट क्षेत्र छुट्याएर त्यहाँ पर्याप्त मात्रामा घाँस खेती र दानाका लागि आवश्यक अन्न उत्पादन गर्न सकिने कार्यक्रम ल्याउन सकिन्छ ।
  •  पाडापाडी बाछाबाछी नहुर्काउने र महँगोमा गाई–भैँसी पालन गर्ने परम्परालाई अन्त्य गर्दै, किसानलाई पाडापाडी र बाछाबाछी हुर्काउने अभ्यासमा प्रोत्साहन कार्यक्रम लागू गर्नुपर्छ ।
  • पशुहरूमा लाग्ने विभिन्न रोगहरूको निःशुल्क खोप र औषधि उपचारको व्यवस्था सरकारले गर्नु पर्दछ। साथै, सरसफाई, व्यवस्थित फर्म, तालिम तथा आधुनिक पालन–पोषण प्रविधिमा विशेष ध्यान दिन आवश्यक छ।
  •  निर्वाहमुखी पशुपालन अन्त्य गरी व्यवसायिककरण तर्फ लैजान सहुलियतपूर्ण ऋण, बीमा, प्रविधि तथा अनुदानको पहुँच वास्तविक किसानसम्म पु¥याउन आवश्यक छ । यी सबै उपायहरूले दूधको उत्पादन बढाउँदा लागत कम हुनेछ, किसानको आम्दानी वृद्धि हुनेछ र उपभोक्ताले गुणस्तरीय दूध सस्तोमा पाउने अवसर प्राप्त हुनेछ ।
You might also like

Comments are closed.