२७ सय विद्यार्थी पढाउने ‘रामतुलसी मावि’, संस्कारसहितको शिक्षाको पर्याय

सुशीला रेग्मी

हरेक बालाबालिकाको दोस्रो पाठशाला विद्यालय हो । विद्यालयमा उसले आफ्नो भविष्य कस्तो बनाउने सङ्कल्प बोकेर जाने गर्दछ । विद्यालय भनेको सैद्धान्तिक ज्ञान सिकाई मात्र हो भन्ने छैन । विद्यालय हाताभित्र प्रवेश गरेपछि एउटा बालकले पारिवारिक वातावरणमा खेल्दै, सिक्दै उसले आफ्नो भविष्य निर्माणको नयाँ सपना बुनिरहेको हुन्छ । विद्यालयले बालबालिकालाई आवश्यक पर्ने वातावरण दिन सकेन भने उसका ठूला सपना बिलिन भएर जान्छन् । सामुुदायिक विद्यालय भनेपछि अझैपनि आम नागरिकमा आफ्ना बालबालिकाले के नै नयाँ कुुरा सिक्लान् र ? भन्ने धेरैको धारणा छ ।

संस्थागत विद्यालयको तुुलनामा सामुुदायिक विद्यालयले समयानुकुुल शिक्षा दिन सक्यो भने विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरणीय बनेको छ, ‘रामतुुलसी नमुना मावि’ । यहाँको विद्यालय भित्रको वातावरण हेर्ने हो भने जोकोहीलाई पनि लोभ्याउने खालको छ ।

‘सिक्नका लागि रामतुलसी’ र ‘संस्कारसहितको शिक्षा’ नारा बोेकेको यस विद्यालय पाल्पाकै नमुुना विद्यालय हो । अभिभावकले केही न केही नयाँ कुरा सिक्छ भन्ने आशाका साथ संस्थागत छाडेर रामतुलसी माविमा आफ्ना बालबालिका भर्ना गराउने क्रम बढ्दो छ । विद्यालय प्रवेशद्वारभित्र पसेपछि शिक्षक, कर्मचारी, विद्यार्थीको अनुशासन, एक व्यक्तिले अर्को व्यक्तिबीच गर्ने आदर सत्कार अन्य विद्यालयले अनुशरण गर्नुपर्ने खालको छ । विद्यालयभित्र प्रवेश गर्ने बित्तिकै हरियाली रुख विरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, ‘रामतुलसी नमुना मावि’ । करिव २ हजार ७ सय विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातावरण देख्ने जोकोही पनि दङ्ग पर्छन् ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिव ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमुना विद्यालयका रुपमा पहिचान बनाएको छ । यो विद्यालय अहिले शैक्षिक गन्तव्यस्थलको रुपमा चिनिएको छ । यहाँ विभिन्न जिल्लाबाट विद्यालय तथा विभिन्न संघ संस्थाको समूह अवलोकन भ्रमण तथा सिक्नका लागि आउने क्रम बाक्लिदै गएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाई सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलसी हेर्न र सिक्न लायकको विद्यालय बनेपछि संस्थागत विद्यालय छाडेर यहाँ अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण छ ।

विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भएपनि शिक्षामा अब्बल विद्यालय भएकाले खोजेजस्तै पठनपाठन हुने गरेकाले विद्यार्थी रामतुलसी पढ्ने भनेपछि उत्साहित हुन्छन् । भर्खर विद्यालय जाने उमेर समूहका बालबालिका यहाँको विद्यालय जान पाउँदा खुशी मुद्रामा निस्कन्छन् । बोर्डिङ स्कुलको तुलनामा धेरै सुबिधा, गुणस्तरीय शिक्षा भएकाले विद्यार्थी र अभिभावकको रोजाईमा विद्यालय परेको छ । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमुना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ ।

हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने गरी सक्षम विद्यार्थी उत्पादन गर्न समयानुकुुल शिक्षामा जोड दिइएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । प्रअ लम्साल आफै विहान उज्यालो भएदेखि साँझ अबेरसम्म पनि विद्यालयको कार्यमा निरन्तर खटिरहन्छन् । उनको यो कार्य अनुकरणीय र प्रशंसनीय छ । विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्न सकियो भने विद्यालय तहको शिक्षा गाउँमै विद्यार्थीले खोजेजस्तो पढ्न पाउने उनको अनुुभव छ । शिक्षक, कर्मचारीले जागिर मात्र हो भन्ने सोँच राखेमा विद्यालयको वातावरण सुुधार नहुने भन्दै प्रअ लम्सालले यस विद्यालयमा शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, जनप्रतिनिधि, अभिभावक, सरोकारवाला सबैको साथ र सहयोगमा नमुना विद्यालय बनाउन सफल भएको बताउँछन् ।

हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने गरी सक्षम विद्यार्थी उत्पादन गर्न समयानुकुुल शिक्षामा जोड दिइएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । प्र.अ. लम्साल आफै बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म विद्यालयको कार्यमा निरन्तर खटिरहन्छन् । उनको यो कार्य अनुकरणीय र प्रशंसनीय छ ।

‘विद्यालय भनेपछि बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र हो भन्ने सोचाई जबसम्म शिक्षक, कर्मचारीमा हट्न सक्दैन तवसम्म विद्यालय सुधार हुदैन,’ उनले भने, ‘हाम्रो विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी आवश्यक परेका बेला शनिवार तथा सार्वजनिक बिदा पनि नभनेर जस्तोसुकै परिस्थितिमा तोकिएको समयमा उपस्थित भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनुहुन्छ ।’

पढुँ पढुँ खालको वातावरण

विद्यालयको प्रवेशद्वार भित्र पसेपछि नपढ्नेलाई पनि पढ्नुपर्छ भन्ने खालको वातावरण छ । यहाँ हरेक वर्ष १५० का दरले विद्यार्थी बढिरहेका छन् । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले रामतुलसी विद्यालयप्रति लिएको विश्वास, न्युनतम शुल्कमा विद्यालय सञ्चालन भएकाले वर्षेनी विद्यार्थीको संख्या बढ्दै गएको छ । भुगोलको हिसावले शहरउन्मुख, बजार नजिकै विद्यालय, अन्यत्र विद्यालयमा पढाई नभएका विषय यहाँ सञ्चालन, तीनवर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा सङ्कायमा पठनपाठन भइरहेको छ । यहाँको वातावरण र व्यवस्थापकीय पक्ष राम्रो हुदै जादा विद्यार्थीको आकर्षण बढेको हो । समयानुकुल शिक्षण सिकाईलाई अवलम्वन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जादा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गर्दछन् । दुईवटा स्कुल बस दैनिक सञ्चालनमा ल्याइएको छ । विद्यालयका १२० कोठामध्ये एक सय कोठा शैक्षिक प्रयोजनमा छ ।

व्यवस्थित पुस्तकालय, सुबिधा सम्पन्न तीन सय मानिस अट्ने क्षमताको चमेनागृह व्यवस्थापन गरिएको छ । विद्यालयमा प्राथमिक उपचारका लागि एक जना नर्स र प्रवेशद्वार भित्र पस्ने बित्तिकै सुरक्षा कर्मचारी परिचालन गरिएको छ । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स कर्मचारीको व्यवस्था गरिएको हो । हाल यहाँ नेपाली, अंग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अबदेखि अंग्रेजी माध्यम अन्र्तगत पनि बिशिष्टीकृत रुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ । बिशिष्टीकृत शिक्षा प्रदान गर्न पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षा सञ्चालन भइरहेको छ ।

पार्टी पौवाबाट अक्षराम्भ भएको विद्यालय

रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चउर, बगैचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुबिधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योती प्रदान गर्न वि.सं. २०२५ मा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योती छरेको छ । अहिलेपनि हाइस्कुल भनेपछि धेरैको बुझाइमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ ।

नमुना बन्यो पूर्व बालविकास कक्षा

यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमुना पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुबिधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाईमा पर्ने गरेको छ । प्रयाप्त खेलमैदान, सुबिधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालय लगायतको राम्रो सुबिधा छ । मन्टेश्वरी तहमा हाल दुुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री सबैको प्रबन्ध, विद्यालयभित्रै तयार पारिएको स्वस्थकर खाजाको व्यवस्था, पढ्दै, खेल्दै सिक्ने वातावरणले विद्यार्थी सिकाईमा जिज्ञासुु बनेको मन्टेश्वरी कक्षा संयोजक चन्द्रप्रकाश भट्टराई बताउँछन् ।

व्यवस्थित कम्प्युटर प्रयोगशाला

शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठुला कक्षाका विद्यार्थीलाई फरक–फरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था मिलाइएको छ । तल्ला कक्षा र माथिल्ला कक्षाका विद्यार्थीलाई छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ । विषय शिक्षकले पाठ अनुसार सम्बन्धित विषयवस्तुको बारेमा प्रयोगशालामा विद्यार्थी लगेर शिक्षण कार्य भइरहेको छ । यहाँको कम्प्युटर प्रयोगशाला नमुना खालको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई एकै कोठामा ३० वटा कम्प्युटरको व्यवस्था छ । साना कक्षामा अध्ययनरत विद्यार्थीका लागि छुट्टै कोठामा १५ वटा कम्प्युटर सिकाईका लागि व्यवस्था गरिएको छ ।


इभेण्ट परियोजनाको सहयोगमा ३२ लाख रुपैयाँ बराबरको लागतमा व्यवस्थित कम्प्युटर प्रयोगशाला प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । व्यवस्थित पुस्तकालयको स्थापना र प्रयोग, आधुनिक चमेनागृह सञ्चालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्याबको प्रयोग, विद्यालयको वेवसाइट र सर्भर सञ्चालन, विद्यार्थी प्रगती विवरणलाई व्यवस्थित गरिएको छ ।

अहोरात्र खटिन्छन् शिक्षक कर्मचारी

शिक्षक कर्मचारीलाई जागिर खाने मात्रै नजरमा हेरिन्छ । यहाँका शिक्षक, कर्मचारीको खटाई देख्दा अन्य क्षेत्रका शिक्षक, कर्मचारीले केही सिक्नैपर्ने छ । सामान्यतया विद्यालयको जागिर विहान १० देखि ४ बजेसम्म हो, तर यहाँका आवश्यकता अनुसार शिक्षक, कर्मचारी बिहानदेखि साँझसम्म विद्यालयको शैक्षिक विकासमा अहोरात्र खटिएकै हुन्छन् । बिदाको दिन विद्यालयको लागि समय खर्चने शिक्षक, कर्मचारी कर्म हुन्छन् तर यस विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी हसिँलो मुद्रामा हरेक समय विद्यालयमा उपस्थित हुने, आफ्नो जिम्मेवारीमा इमान्दार भएर काम गरिरहेका छन् । शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीका लागि सोँचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ ।

२० लाख ५० हजार बराबरको अक्षयकोष

विद्यालयमा हालसम्म २० लाख ५८ हजार २५५ रुपैयाँ बराबरको रकम अक्षयकोष स्थापना भएको छ । विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक, धार्मिक क्षेत्रमा बिशिष्ट योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने गरिएको छ । अन्य अक्षयकोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, असहाय विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गरिदै आइएको छ । विद्यालयमा स्थापना भएका अक्षयकोष मध्येबाट हरेक वर्ष करिव एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्ने गरिएको छ ।

अति न्युन शुल्क लिएर संस्थागत विद्यालयले दिने सबै सेवा सुबिधा उपलब्ध गराइएको र यस विद्यालयलाई नेपालकै नमुना विद्यालय बनाउने कोशिसमा शिक्षक, कर्मचारी, समिति लागिपरेका छन् । मन्त्री, सरकारी तवरमा उच्च तहमा पुगेका कर्मचारी, विभिन्न क्षेत्रमा धेरै जनशक्ति उत्पादन गर्ने पुरानो हाइस्कुलले चिनिएको रामतुलसी नमुना माविले अहिले शैक्षिक क्षेत्रमा नौलो आयाम बनाउन सफल भएको छ ।

You might also like

Comments are closed.