क्रस बोर्डर कारोबार गर्न राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का बीच सम्झौता भएको छ ।

वाणिज्य बैंकका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाईल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्न सक्ने गरी डिजिटल प्रबिधिको व्यवस्था मिलाउन दुई संस्थाहरु बीच सम्झौता भएको हो ।

अब नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । नेपाल क्लियरिङ हाउसको माध्यमबाट यस्ता कारोबारहरु हुने बताइएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गाकुमारी कंडेल र विभागीय प्रमुख ऋषि राम ढकाल, उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेल लगायत सहभागि थिए ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड, पिओएस, क्रेडित कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोबाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

 

You might also like

Comments are closed.