नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन हस्तान्तरण

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरे ।

महानिरीक्षक कुँवरले बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास गरेका छन् । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनको भनाई छ ।

प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गरेका छन् । नेपाल प्रहरीमा स्रोत र साधनको कमी ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने उनले बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने विचार व्यक्त गरे ।

कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास उनले व्यक्त गरेका छन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय बाणिज्य बैंकका उप कार्यकारी अधिकृत तथा पदाधिकारी लगायत सहभागि थिए ।

 

You might also like

Comments are closed.