राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैँक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउने गरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले वदलिँदो समयसंगै सबै कुरालाई रुपान्तरण गरी अग्रणी बैँक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधालाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्ने गरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैँकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैँक बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको उनी बताउँछन् । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने दावी गरे ।

यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसंग बाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको जनाए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले व्याजदरमा अहिले भइरहेको एकल अंकको ब्याजदरलाई स्थीर बनाउन आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय बाणिज्य बैँकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैँकको सेवा प्रवाहमा सुधारको सुरुवात भईरहेको प्रति खुसी व्यक्त गरे ।

बैँक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपकार्यकारी अधिकृत पवन रेग्मीले गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, कम्पनी सचिव लगायत कर्मचारीको उपस्थिती रहेको कार्यक्रममको पूर्वसन्ध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड, पिओएस, क्रेडित कार्ड, डेबिट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

lcci
You might also like

Comments are closed.