काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
सोमबार काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा साधारण सभा भएको हो । साधारण सभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाको माध्यमबाट ग्राहकसमक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए ।
बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिबृद्घि गर्दै समय सान्दर्भिक कार्य पद्घतिको विकास गर्ने उद्धेश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिमा समय सापेक्ष परिमार्जन गर्दै आएको बताउँदै बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनी लगायत सहभागी थिए । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका छन् । शेयरधनीबाट आएका टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका छन् ।
साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, बाह्य लेखापरीक्षकहरु, बैंकका कानुनी सल्लाहकार लगायत सहभागी थिए ।
साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजिकरण गरेका हुन् । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।
Comments are closed.