काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ ।
बैंकले आज काठमाडौंमा एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ। चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप संकलन दुई खर्ब ७२ अर्ब रुपैयाँ, कर्जा प्रवाह दुई खर्ब ३४ अर्ब रुपैयाँ र नेटवर्थ ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ ।
आज काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए ।
त्यस्तै, बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि-ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको उनले भनाइ छ । एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ।
बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ छ भने, देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ।
कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको छ।
Comments are closed.