काठमाडौं । काठमाडौंको मीनभवनस्थित विश्व शान्ति बौद्ध बिहारमा आँखाको निःशुल्क परीक्षण कार्यक्रम सम्पन्न भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरको अगुवाइमा विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा शनिबार कार्यक्रम भएको हो ।
कार्यक्रममा ७२ जनाको आँखा परीक्षण गरिएको छ । बिहारमा रहेका भन्ते (बौद्ध गुरु) र विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ४ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । उनीहरुको आँखाको शल्यक्रिया आगामी साता निःशुल्क हुने बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका डिष्ट्रिक्ट को–अर्डिनेटर तथा फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले सामाजिक क्षेत्रमा रिलायन्स फाइनान्स र लायन्सले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा फाइनान्सले समय समयमा आँखा परीक्षण लगायतका विविध कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए । ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं,’ उनले भने । एभरेष्ट आइ सेन्टरको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
रिलायन्स फाइनान्स र लायन्सको संयुक्त आयोजनामा ललितपुरको नल्लुमा पनि हालै आँखाको निःशुल्क परीक्षण कार्यक्रम सम्पन्न भएको थियो । ३ दिनसम्म चलेको उक्त कार्यक्रममा १५६ जना ज्येष्ठ नागरिक लाभान्वित भएका थिए । आँखामा समस्या भएका ४३ जना ज्येष्ठ नागरिकहरुको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गरिएको थियो ।
Comments are closed.