काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानमा साहित्यकार ऋषिराम धमलाको नवीनतम उपन्यास ‘क्यारिन’ को औपचारिक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्राज्ञ अमर न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए भने पत्रकार तथा समीक्षक राजकुमार बानियाँ, पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, कवि तथा आख्यानकार हेम प्रभास लगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
प्रमुख अतिथि न्यौपानेले उपन्यासको भाषा तथा प्रस्तुति अत्यन्त प्रभावकारी रहेको बताउँदै प्रेमिल भावभूमिमा विदेशी परिवेशको कलात्मक चित्रण प्रशंसायोग्य रहेको टिप्पणी गरे।
समीक्षक राजकुमार बानियाँले पुस्तकले आजको युवा पुस्ता, विशेषतः तेस्रो पुस्ताको संघर्ष र प्रयासमार्फत पारिवारिक मिलनको सकारात्मक सन्देश दिएको बताए।
पत्रकार दीपक सापकोटाले ‘क्यारिन’ जेनरेशन जेड अर्थात् अहिलेका युवा पुस्ताको मनोविज्ञान र जीवनशैलीसँग सामीप्य राख्ने कृति भएको धारणा राखे। उनका अनुसार उपन्यासले सबै उमेर समूहका पाठकलाई आकर्षित गर्ने तत्व समेटेको छ।
अभिनेत्री तथा निर्माता केकी अधिकारीले उपन्यासलाई नयाँ पुस्ताका पाठकका लागि उपयोगी प्रवेशद्वारको रूपमा व्याख्या गरिन्। उनले यो कृति आफूले एकै बसाइमा पढेर सकेको उल्लेख गर्दै, उपन्यास पढ्दा फिल्म हेरेको जस्तो अनुभूति भएको जनाइन्। उपन्यासमा चित्रित स्थानहरूको भ्रमण गर्ने इच्छा पनि उनले व्यक्त गरिन्।
कार्यक्रममा स्वागत मन्तव्य कवि तथा आख्यानकार हेम प्रभासले राखेका थिए। कार्यक्रममा उपन्यासकार ऋषिराम धमलाले आफूले सकेसम्म राम्रो लेख्ने प्रयास गरेको जनाउँदै पाठकहरूलाई पुस्तक पढेर सल्लाह सुझाव दिन अनुरोध गरे।
साहित्यमा नयाँ स्वाद ल्याउने प्रयास गरिएको ‘क्यारिन’ ले नेपाली प्रेम उपन्यासमा नयाँ धार खोल्ने अपेक्षा गरिएको छ ।
Comments are closed.