ग्रामीण सडक कालोपत्र गर्दै

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर क्षेत्रभित्रको १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट नगरपालिका–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको ग्रामीण सडक कालोपत्र तथा ग्राभेल हुने भएको हो ।

हाललाई नगरपालिका क्षेत्रमा रहेको १२ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मीमसरा बम शाहीले बताए । “कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको १२ करोड लागतमा कालोपत्र तथा ग्राभेल हुनेछ”, उनले भने,“एक वर्ष अवधिको सम्झौता रहेको छ । त्यही आधारमा कालोपत्रको काम एक वर्षमा सम्पन्न हुनेछ ।”

नगरपालिकाभित्रैका नौ वटै वडासम्म सडक पुगेको र स्थानीय तह बनेपछि सबै वडामा सडक सञ्जालले जोडिएको उपप्रमुख बम शाहीले बताए । “क्रमशः सबै वडामा पुगेका ग्रामीण सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको छ”, उनले भने,“हामीले नौ वटै वडामा आफ्नै नगरपालिकाले स्काइभेटर(डोजर) मार्फत सडक निर्माणको काम गरिरहेका छौं ।”

नगरपालिका क्षेत्रका बस्तीबस्तीमा सडक पु¥याउने योजना रहेको र समाजलाई सम्झाउन नसक्दा आफ्नो प्रतिबद्धता अनुसार काम हुन नसकेको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । “हामीले नागरिकसँग गरेका प्रतिबद्धता अनुसार नै काम गरिरहेका छौं”, उनले भने,“हामीले ग्रामीण सडक मात्र निर्माण गरेका छैनौं । त्यसको स्तरोन्नति र मर्मतसम्भारलाई त्यतिकै ध्यान दिएका छौं ।”

रास्कोट जिल्लाका नौ वटा स्थानीय तहमध्ये ग्रामीण सडक कालोपत्र गर्ने पहिलो भएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले बताए । “जिल्लाका प्रायः सबै स्थानीय तहमा सडक पुगेका छन्”, उनले भने,“रास्कोट नगरपालिका जिल्लाकै पहिलो ग्रामीण सडक कालोपत्र गर्ने नगरपालिका भएको छ ।”

You might also like

Comments are closed.