सडक पुगेपछि गाउँमा खुशीयाली

कमल खत्री/ बेनी । बाजागाजा घन्काइएको छ । मानिसहरु बाजातालमा नाचगानमा व्यस्त छन् । जिल्लाका ठाउँ ठाउँका मानिस यहाँ जम्मा भएका छन् । सयौँ मानिसले हर्षोल्लास मनाइरहेका बेला ९३ वर्षीया उडिमा कमिनि र ९६ वर्षीय दलबहादुर गर्वुजाको हातमा कैँची थमाइयो । मोटर बाटोको छेवैमा सिंगारिएको गेटमा रातो रिबन काट्न उडिमा र दलबहादुरको हातमा कैँची दिइएको हो ।

रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा आयोजित भव्य समारोहबीच ज्येष्ठ नागरिकको तर्फबाट दुबै जनाले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गरे । उनीहरुले रिबन काट्नासाथ यता कार्यक्रममा उपस्थित सबैले परर ताली बजाएर त्यस कार्यको स्वागत गरे ।

गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला कुइनेमङ्गले सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै वर्ष मात्रै गाउँपालिका, जलविद्युत् निर्माण गर्ने तुँदी पावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा विष्फोटक पदार्थको सहायताले ट्र्याक निर्माण गरिएको छ । सडकको ट्र्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसँगै भव्य समारोह आयोजना गरी बाजागाजासहित यही फागुन १७ गते सडकको उद्घाटन गरिएको हो । सडक उद्घाटनका लागि आयोजना गरिएको समारोह पनि भव्य थियो ।

सडक निर्मित अन्य संरचनाको उद्घाटनमा मन्त्री, सांसद र नेताहरुकै दौडधुप हुने गर्दछ । देशव्यापी रुपमा यस्तो प्रचलन रहेका बेला सडक उद्घाटनमा रघुगङ्गाले यो नयाँ प्रयोग गरेको हो । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा सम्पन्न भएको यस योजनाको उद्घाटनमा मन्त्रीदेखि नेतासम्म कसलाई लैजाने भन्ने लामै चर्चा चलेको थियो । तर गाउँपालिकाले सडक योजनाको प्रत्यक्ष लाभान्वित वडाका ज्येष्ठ नागरिकको हातबाट सडकको औपचारिक उद्घाटन गर्ने निर्णय लियो । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेकी दलित समुदायकी ज्येष्ठ नागरिक उडिमा र वडा नं ४ दर्मिजाका जनजाती ज्येष्ठ नागरिक दलबहादुरले रिबन काटेर सडकको उद्घाटन गरे ।

त्यस्तै सो समारोहको उद्घाटन भने वडा नं ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले गरिन् । उनले दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेकी थिइन् । गाउँबाटै गाडीमा चढेर आफन्तसँगको सहायताले उद्घाटनस्थलसम्म आएकी कुइनेमङगलेकी उडिमाले जीवनमै पहिलो पटक यसरी उद्घाटन गर्ने अवसर पाएको बताइन् ।

‘‘मलाई आज अति नै खुशी लागेको छ, त्योभन्दा बढी धक पनि लागेको छ, जीवनको यो उमेरमा आएर यति ठूलो काममा सहभागी हुन पाएँ, भाग्यमानी नै रहेछु’’–उनले भनिन् । खुसीले मुस्कुराएकी उडिमाले सडकमा रिबन काट्दै गर्दा विगतमा गाडी चढ्न सदरमुकाम बेनी पुगेको स्मरण पनि गरिन् ।

‘‘यस्ता ठूला पहाडमा गाडी गुड्ने कल्पनै थिएन्, खुट्टा समेत टेक्न मिल्ने थिएन, खर र डोरी समातेर भारी बोकेर ओहोरदोहोर गथ्र्यांै, अहिले त्यही भिरमा मोटर चल्ने भयो, यो हाम्रो सौभाग्य हो, सबैलाई आशिर्वाद छ, यो बाटोमा सधँै मोटर चलिरहोस्’’– उडिमाले सुनाइन् । जीवनको लामो समय अजिङ्गर पहाडको अक्करे भिरमा डोरी र घाँस समातेर वारपार गरेका दलबहादुरले पनि आफ्नै पालामा गाउँमै मोटर आउने कल्पनासमेत नभए पनि त्यो सम्भव भएको भन्दै खुशी बाँडे ।

‘‘भिरमा खुट्टा टेक्नसमेत मुस्किल थियो, त्यही भिरमा ज्यानलाई जोखिममा राखेर नियमितजसो वारपार पनि गरियो, अहिले यही भिरमा मोटर चल्ने सडक बन्यो, भाग्यबस सडकको रिबन काट्ने अवसर पनि पाएँ’’ उनले भने, ‘‘कार्यक्रमको प्रमुख अतिथिको सम्बन्धमा लामै छलफल भएको हो, विवाद भएर भन्दा पनि उपयुक्त विकल्प हुने भएपछि ज्येष्ठ नागरिकको हातबाट सडकको उद्घाटन गराएका हौँ’’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको अध्यक्ष भण्डारीको भनाइ छ । ‘‘प्रभावित तीनवटै वडाबाट यसवर्ष गौरवको योजनाको बजेट यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत् अयोजनालेसमेत साझेदारी गरेपछि अन्ततः सडकको ट्र्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ’’–अध्यक्ष भण्डारीले भने ।

बेग हुँदै चिमखोला पु¥याइएको सडक घुमाउरो भएकाले ट्याक्टरमार्फत् सामान ढुवानी र अत्यावश्यक रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडक ५६ किलोमिटर लामो रहेको छ । अहिले अजिङ्गर भिरमा सडक निर्माण भएपछि बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–घ्याँसीखर्क सडक जम्मा करीब ३६ किलोमिटरमै छोटिएको छ । सिधा सडक सञ्जालले करीब आधा दूरी छोटिएको छ भने नियमित आवतजावतले सडकको उपयोग र प्रभावकारितासमेत बढाएको छ । पहिले घुमाउरो बाटो प्राविधिक रुपमा अनुपयुक्त र जोखिमपूर्ण रहेको थियो । घुमाउरो बाटोबाट छ घण्टा लाग्ने यात्रा अब तीन घण्टामै पार गर्न सकिने भएको छ ।

सडक उद्घाटन समारोहमा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरोकारवाला र पत्रकार समेतले सडक निर्माणसँगै दुर्गम बस्तीमा विकासको आधार तयार भएको भन्दै सडकलाई सुरक्षित र स्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सडक निर्माणले यसरी पायो सार्थकता

गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट बस्ती दर्मिजा, चिमखोला कुइनेमङगले सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका छन् । अक्करे पहाड अजिङर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको हो ।

विसं २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नं ४ का वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । यस सडक सञ्जालले यस क्षेत्रका करीब पाँच हजार जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपज सहजै बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।
यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नं ८ का वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न समेत सडकले सघाउने बताए ।

सत्र करोड बढी लागत

आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म यस सडकखण्डमा रु १७ करोड बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट यस सडकखण्डमा कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको जानकारी दिए।

त्यसमध्ये गाउँपालिबाट रु तीन करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट रु २१ लाख ५४ हजार ४६६ र सङ्घीय सरकारमार्फत् स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु २१ लाख ५७ हजार ४६५ खर्च भएको छ भने गाउँपालिकाका अध्यक्ष भण्डारीले समेत व्यक्तिगत रुपमा रु १० लाख परिचालन गरेका छन् ।

यसवर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगङले क्षेत्रमा जलविद्युत् निर्माण शुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयबाट तीन वर्षमा रु दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम भएको पनि बताइएको छ ।

मौवाफाँट हुँदै दग्नामसम्मको खण्डमा तत्कालीन जिल्ला विकास समितिमार्फत् समेत सडकको ट्र्याक निर्माणमा बजेट परिचालन भएको थियो ।

You might also like

Comments are closed.