सूर्यविनायक-धुलिखेल सडक : काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

काठमाडौं । अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ ।

यसका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ ।आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक-धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको छ ।

यसअघि जापान सहयोग नियोग (जाइका)ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो ।डिपिआरअनुसार छ लेनमा सूर्यविनायक-धुलिखेल सडक विस्तार गर्न रु नौ अर्ब लाग्ने छ ।

प्रतिवेदनअनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिकाले हाललाई सूर्यविनाक-धुलिखेल सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको साँगादेखि धुलिखेलसम्म विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजनाका सिनियर डिभिजन इञ्जीनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए ।

काभ्रेपलाञ्चोक खण्ड साँगाबाट धुलिखेलसम्म करिब १० किलोमिटरको दूरी पर्छ । आचार्यका अनुसार ठेक्का पाउने व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको समेत जिम्मा लिनुपर्ने छ । भदौमा प्रक्रिया सकेर आउँदो असोजमा सम्झौता हुने बताइएको छ ।

डिपिआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने उल्लेख छ । आचार्यका अनुसार आगामी कात्तिकबाट काम सुरु गर्न सकिन्छ । यस आयोजनाअन्तर्गत भक्तपुर खण्डअन्तर्गत साँगाबाट सुर्यविनायकसम्म छुट्टै बोलपत्र आह्वान गरिनेछ ।

आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने योजना थियो ।

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जाइकाले हात झिकेको छ । “बोलपत्र आह्वान भएको छ, अब जाइकाले चासो दिएमात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने जनाएको छ”, आचार्यले भने ।

उक्त सडक आयोजना करिब १६ किलोमिटर दूरीको हो । अध्ययनअनुसार उक्त दूरीमा छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने छ । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे छलफल भइरहेको छ ।

“सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको छ”, आचार्यले भने । जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइनअनुसारको काम गर्न नसक्ने जनाएको हो ।

सरकारले आव २०७७÷७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न ? एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायत काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो ।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र मधेश प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन् ।

उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।

You might also like

Comments are closed.