ललितपुरको ढोलाहिटी-लेले सडक सम्पन्न गर्ने तयारी

काठमाडौं । सडक निर्माण सुरु भएको ६ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न गर्ने तयारी गरिएको छ ।बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौतामा उल्लेख भए पनि आधाभन्दा बढी लम्बाइ र लक्ष्यभन्दा आधा कम चौडाइको काम भएको छ ।

तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सुनाकोठीमा झण्डै आठ सय मिटर लम्बाइमा एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउड रहेकाले पुनःसडक भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।

उनका अनुसार पानी बग्ने ठाउँ नभएकाले सडकमा निर्माण हुनासाथ उप्कने गरेको हो । कालोपत्रका लागि प्रयोग हुने उपकरणले सडक नजिकका घरलाई असर गर्ने हुनाले सो स्थानमा उपकरण प्रयोग नगरिएको जोशीले बताए ।

विस्तारका क्रममा रहेका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माणसम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए । चौडाइ बढाउन, तथा त्यहाँका संरचना हटाउनका लागि लामो सयम लाग्ने देखिए पनि अब निर्माण कार्य छिट्टै सम्पन्न गरिने उनको भनाइ छ ।

सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ । टाखेल–टीकाभैरव खण्डमा भने जङ्गल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ ।

ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको छ ।चापागाउँ, ठेचो, सुनाकोठीलगायत बजार क्षेत्रमा सडक साँघुरा छन् ।

उक्त स्थानमा ठूला सवारीसाधनका कारण घन्टौँसम्म सडक जाम हुनुका साथै कार्यालय समयमा लामो समय जाम हुँदा स्थानीयवासी समस्यामा परेका छन् । झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो ।

ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नगरिएपछि पटकपटक ठेक्का अवधि थप हुँदै आएको छ ।

You might also like

Comments are closed.