पस्मिनाको व्यापारले करोडपति बनेकी सविना !

३ लाखबाट सुरु गरेको कारखाना डेढ करोडमा विस्तार

दीपा रेग्मी । आजको युग भनेको परिर्वतनको युग हो । संसारका हरेक मान्छेको सोच मानव विकास र परिवर्तनको स्वरले गुञ्जायमान भइरहेको छ । तर, यस परिवर्तित युगमा जवसम्म स्वयम आत्मनिर्भर हुन सकिँदैन् तवसम्म परिवर्तनका खुड्किलाहरु चढ्न मुस्किल पर्दछ ।सफलताको एउटा मुख्य कारण नै आत्मनिर्भता हो । आजको प्रतिस्पर्धी समयमा आएरपनि आफूलाई आत्मनिर्भर बनाउन सकिएन भने, सधैं पीछडिएको वर्गमा गणना हुने हुँदा आफूमा परिवर्तन ल्याउन जरुरी छ । यो कुरालाई बुझेर एक सफल उद्यमीको रुपमा चिनाउन सफल छिन् ललितपुर २९ हरिसिद्धीमा बसोवास गर्दै आइरहेकी सविना श्रेष्ठ ।

४० वर्ष अगाडि हेटौंडाको मकवानपुर १७ हटियामा जन्मेकी श्रेष्ठको विवाह पनि हेटौंडा मकवानपुर पशुपतिनगर बस्ने विरेन्द्र श्रेष्ठसँग भयो । दुई सन्तानकी आमा सविनालाई सानैदेखि केहि गर्नुपर्छ भन्ने सोचले सताइरहन्थ्यो । विवाह लगत्तै दुई सन्तान जन्माइसकेपछि उनमा झन् धेरै जिम्मेवारी थपिएको महसुस हुन थाल्यो । विवाहअघि उनका श्रीमानले काठमाडौंको एक प्राइभेट कम्पनीमा काम गर्ने भए पनि पछि काम छोडेर हेटौंडा नै गएर उतै प्राइभेट कम्पनीमा काम गर्न थालेका थिए । सामान्य आर्थिक स्थिति थियो, उनको परिवारको । दिनदिनै छोराछारी ठुला हुँदै गएपछि सन्तानको भविष्यले सताउन थाल्यो उनलाई । एकदिन श्रीमानसँग सल्लाह गरेर उनी भोलिको उज्जवल भविष्यको लागि आफ्नो सपरिवार लिएर काठमाडौं आइन् ।

 

ठूलो सहरमा आए धेरै अवसरहरु पनि पाइन्छ र छोराछोरीलाई पनि राम्रो विद्यालयमा पढाउने सोचका साथ काठमाडौं छिरेकी उनलाई झन् धेरै जिम्मेवारी बढेको महसुस हुन थाल्यो । उनका श्रीमानले एक प्राइभेट पस्मिनाको सलहरु बनाउने कम्पनीमा काम गर्न थाले । बच्चाहरु सानो भएकाले उनी बाहिर कतै गएर काम गर्न सक्ने अवस्था थिएन । त्यसैले सविनाले घरमै बसेर गर्न सकिने कामको खोजी गर्न थालिन् । उनको नजिकैको साथीले पोते, माला बनाउने काम गर्थिन् । सोहि काम सविनाले पनि घरमै बसेर गर्न थालिन् । दिनहरु यसरी नै बित्दै थियो । छोराछोरी पनि ठुला हुँदै थिए । उनीहरुको खर्च पनि धेरै आउन थाल्यो । आफ्नो र श्रीमानको कमाइले घर खर्च पनि नपुग्ने देखेपछि उनका श्रीमानले विदेश जाने इच्छा देखाए । तर, सविनाले श्रीमानलाई विदेश जान दिइनन् । तर, आफैले सिप सिकेर विदेश जाने सोच बनाइन् । र, नर्सिङको तालिम लिन थालिन् । करिब डेड वर्ष तालिम लिएर उनले तालिम पूरा नगरी बिचमै छाडिन् । त्यसबेला कोरियाले नेपाली कामदार लैजाने भन्दै नेपाल सरकारसंग सम्झौता पनि गरेको थियो ।

उनको मनमा पनि फेरि कोरियन भाषा पढेर कोरिया जाने इच्छा जाग्यो । र, उनले कोरियन भाषा पढ्न थालिन् । सविनाले परीक्षा पनि दिइन् तर सफल हुन सकिनन् । परीक्षा पास गर्न नसकेपछि उनको विदेश जाने सपना पनि अधुरै रह्यो । यसले केहि समय उनमा नैराश्यता छायो । तर, भनिन्छ नि ? असफता नै सफताको बाटो देखाउँछ । त्यसैगरी उनको जीवनमा पनि त्यसपछि धेरै सकारात्मक परिवर्तन आयो ।

नेपालीमा कहावत छ, एउटा छोरा मान्छे सफल हुनमा एक महिलाको हात हुन्छ, त्यसैगरी छोरी मान्छे सफल हुनमा पनि एक छोरा मान्छेको राम्रो भूमिका हुँदो रहेछ । उनको जीवनमा पनि यो लागु भएको छ । सविनाको जीवनमा उनका श्रीमानको साथ र सहयोगले निकै ठुलो भूमिका खेलेको छ । अहिले उनि जहाँ छिन् त्यसको श्रेय श्रीमानलाई दिन्छिन् ।

आज यो अवस्थामा ल्याउन उनलाई श्रीमानको साथ र सहयोग छ । सविना आफ्नो कुरा हामीसंग सेयर गर्दै भन्छिन्– ‘मैले नै श्रीमान्लाई भने अब आफैले केहि गरौं । श्रीमानले आफूले पनि पस्मिना उद्योगमा काम गर्ने भएकाले आफै त्यस्तै कारखाना खोल्ने योजना हामीले बनायौं ।’

त्योबेला व्यवसायमा लगाउने उनीहरुसँग पैसा पनि थिएन । घाँटीमा २ तोलाको सिक्री थियो । भविष्यमा कमाइएछ भने बनाउला भन्ने दृढ विश्वासका साथ उनले त्यो सिक्री बेचिदिइन् । अलिअलि गरेर बचत गरेको पैसा २ लाख जति थियो । त्यसलाई पनि प्रयोग गरेर ३ लाख हातमा लिएर उनीहरुले हरिसिद्धीमा घर भाडामा लिएर २०७० सालमा सफल एण्ड एलिसा उविङ कासमिरा उद्योग खोलेर काम सुरु गरे ।

‘काम गर्न सजिलो कहाँ छ र ? पस्मिनाको धागो, बुुन्ने मेसिन नै महंगो हुने रहेछ,’ उनी सम्झन्छिन्, ‘हेटौंडामा भएको पुख्र्यौली जग्गा बैंकमा राखेर ऋण लिने निधो गर्यौं र ललितपुरको ठैवस्थित एनएमबि बैंकमा गएर ऋण लियौं । २५ लाख लगानी गरेर कारखानालाई ठुलो बनायौं ।’ पछि सविनाका श्रीमानले पनि उता काम छोडेर सबै समय आफ्नै उद्योगमा दिन थाले । श्रीमानको अनुभवले कारखाना निकै राम्रो भएको सविनाको बुझाइ छ । काम राम्रो भएर राम्रै आम्दानी गर्न सफल सविना दम्पतीले बैंकबाट लिएको ऋण मात्रै ९ महिनामै तिर्न सफल भए ।

पछि फेरी कारोबार बढाउन उनीहरुले एनएमबि माइक्रो फाइनासबाट १० लाख ऋण लिएर चलाएको सविना बताउँछिन् । त्यो ऋण पनि धरै तिर्न बाँकी नरहेको उनको भनाई छ ।

अहिले उनले ललितपुर हरिसिद्धीमा जग्गा किनेर साडे दुई तलाको घर पनि बनाएकी छन् । ३ लाखबाट सुरु गरेको सविनाको कारखाना अहिले डेड करोडको पुगेको छ ।

सविनाको कारखानामा पस्मिनाको सलहरु, सामान्य सुतिको सललगायत अन्य धेरै कपडाहरु तयार पारिन्छ । जुन सामानहरु देशका धेरैजसो ठाउँमा बिक्रीका लागि पठाइन्छ । कोराना अघि मासिक सबै खर्च कटाएर २ देखि ३ लाखसम्म कमाई गर्ने सविनाले अहिले भने व्यापारमा निकै कमि आएको बताउँछिन् । लकडाउनको बेला निकै नै कठिन भएको उनि सम्झदै भन्छिन्- ‘त्यो बेला अरुको घर भाडामा लिएर काम गरेका थियौं । लकडाउन भयो कमाइ भएन त्यहीबेला घरबेटीले भाडाको लागि किचकिच गर्न थाले, कुनै सहयोग गर्नु भएन् । त्यही बेला हामीले आफूसँग भएको मेसिन् बेचेर सबै पैसा तिरेर कारखानालाई गोदावरी नगरपालिकाको ठैव १४ मा जग्गा भाडामा लिएर सञ्चालनमा ल्यायौं ।’

लकडाउनले व्यापारमा कमी आएपछि आफूसंग भएका १७ जना कर्मचारीहरु घटाएर अहिले ८ जनामा सीमित छन् । अहिले बिस्तारै अवस्था राम्रो हुँदै गएको उनले बताइन् ।

अहिले पनि सबै खर्च कटाएर ५० देखि ६० हजार रुपैयाँ मासिक बचत हुने गरेको सविना बताउँछिन् ।अहिले सविना महिला उद्यमीको क्षेत्रमा काम गर्ने महिलाहरुको संस्थाको सदस्य भएर विभिन्न तालिम तथा महिला हकहितका विषयमा आवाज उठाउँदै आएकी छन् ।

सविनाले ललितपुर नगर विकास महिला कमिटीको उपाध्यक्ष पनि भएर काम गरेकी छन् । कामप्रतिको लगाव, श्रमको सम्मान र धैर्यताले जीवनमा सफता प्राप्त गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेकी छन् सविना । गरे के हुँदैन ? उनको भोगाइ, संघर्ष अनि मेहेनतबाट हामीले पनि केही सिक्न सक्छौं कि ?

You might also like

Comments are closed.