काठमाडौंमा साझाका विद्युतीय बस सरर

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् ।

ती बसमध्ये दुई माछापोखरी-बालाजु-सोह्रखुट्टे-जमल-पुरानो बसपार्क-माइतीघर-नयाँबानेश्वर-तीनकुने-सिनामङ्गल-एयरपोर्टको रुटमा र एक लगनखेल-जावलाखेल-कुपण्डोल-त्रिपुरेश्वर-नेपाल वायुसेवा निगम-लैनचौर-शिक्षण अस्पताल-गोपालचोक-बाँसबारी-बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।

साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ । सरकारले तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो ।

ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको छ । ती बस चीनको सिएचटिसी कम्पनीले तयार गरेको हो ।

दोस्रो चरणमा योभन्दा बढी लामो बस खरिद हुने कम्पनीले जनाएको छ । झण्डै १० देखि १२ मिटर लम्बाइको सहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको उनले बताए ।

बस चालक हर्मिता श्रेष्ठले अरु बसभन्दा यो सजिलो भएको बताए । केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहेकी उनी यी बसमा क्लज, गेयर हाल्नु नपर्ने हुँदा सजिलो भएको जानकारी दिए । यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ ।उनले भने , “अरु गाडीजस्तो आवाज आउने छैन ।”

साझा अध्यक्ष कनकमणि दिक्षीतले नेपालमा साझाले सहरी यातायात र क्षेत्रीय यातायात सुरु गरेको छ भने । विद्युतीय बस आर्थिक र वातावरणीयरूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उनले बताए । निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष दिक्षीतले जोड दिए ।

चार्जिङ स्टेशन निर्माणका लागि सरकारले सहयोग गर्ने उनको विश्वास थियो । अध्यक्ष दिक्षीतले भने, “चार्जिङ स्टेशनका लागि सक्दो चाँडो जग्गा उपलब्ध हुनेमा हामी आशावादी छौँ ।”साझा खुल्दा आफू ३० वर्ष भएको र अहिले ९५ वर्ष भएको संस्थापक अध्यक्ष थापाले बताए । बस सञ्चालन हुँदा खुसी लागेकैले आफू यहाँ आइपुगेको उनको भनाइ थियो।

यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए ।

दिनभर बस गुडाएर राति चार्ज गर्न सकिने सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए । उनले भने, “राति तीन–चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उनले बताए । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्वीलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।

पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमाभन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन)पनि कम रहेको सञ्चालक समिति सदस्य तुलाधरले जानकारी दिनुभयो ।हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।

साझाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्यांकन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’हरू मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरिएको हो ।सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

विगतदेखि नै सार्वजनिक यातायात सञ्चालन गरिरहेको साझाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको जनाइएको छ ।

अघिल्लो सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले ‘स्पेसिफिकेसन’ भन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । पुनः बस खरिद गर्दा कोमार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा १६ महिनासम्म बस खरिदमा अन्योल रहेको थियो । विसं २०७७ फागुन २ गते मन्त्रालयको पत्रानुसार पुनः साझाले अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद प्रक्रिया अघि बढाएको थियो ।

देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारीसाधनलाई बढवा दिने सरकारले योजना बनाएको छ । संघले मात्रै होइन, प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै बागमती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।

यसअघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आएको बस उद्घाटन भएर पनि चल्न सकेको थिएन । विमानस्थल बनिसक्न ढिलो भएकाले एशियाली विकास बैंकको सहायतामा लुम्बिनी विकास कोषले भित्र्याएको चार थान बिजुलीबाट चल्न बस केही समय साझाले नै उपत्यकामा सञ्चालन गर्ने सहमति गरिएको थियो । सरकारी परीक्षणमा सफल नहुँदा कोषका बस सञ्चालनमा आउन सकेको थिएन । उपत्यकामा निजी कम्पनीले केही वर्ष पहिलेबाट विद्युतीय बस सुरु गरे पनि सरकारी लगानीमा सञ्चालन भएको यो पहिलो हो ।

 

You might also like

Comments are closed.