सन् २०४१ सम्म स्मार्ट बंगलादेश बनाइने

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री हसिनाले बंगलादेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित बंगलादेश बनाउने बताइन् ।

सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ’- बंगलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ।

बंगलादेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजीटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताइन् ।

त्यस अवसरमा प्रधानमन्त्री हसिनाले स्मार्ट बंगलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिँदै यी कार्यहरु सुरु गर्ने बताइन् ।

उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन्। उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन् ।

You might also like

Comments are closed.