होटल व्यवसायी महासंघको अध्यक्षमा शेरबहादुर थापाको उम्मेदवारी

पोखरा । होटल व्यवसायी महासंघ नेपालको आसन्न निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । यसैक्रममा यही चैत २७ र २८ गते पर्यटकीय राजधानी पोखरामा हुने १३औं साधारणसभा एवं पाँचौं अधिवेशनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघको नेतृत्व चयनका लागि निर्वाचन नजिकिँदै गर्दा थापाले आफ्नो दाबेदारीलाई बलियो बनाएका छन् ।

लामो समयदेखि संस्थागत विकास र व्यवसायीहरूको हकहितका लागि सक्रिय रहँदै आएका थापा हाल महासंघको वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत छन् । वरिष्ठ उपाध्यक्ष भइसकेको र संस्थाको सांगठनिक संरचनामा लामो अनुभव भएका कारण उनको अध्यक्ष पदको उम्मेदवारीलाई व्यवसायीहरूले स्वाभाविक र न्यायोचित रूपमा लिएका छन् ।

तीन दशकको व्यावसायिक र सांगठनिक अनुभव

वि.सं. २०५२ सालदेखि व्यवसायमा प्रत्यक्ष आबद्ध थापा एक सफल पर्यटन व्यवसायी हुन् । उनीसँग महासंघमा विभिन्न तहमा रहेर काम गरेको लामो अनुभव छ ।

महासंघमा एक कार्यकाल सल्लाहकार, एक कार्यकाल उपमहासचिव भएर काम गरिसकेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको संस्थापक सल्लाहकार, जिल्ला होटल व्यवसायी संघको सल्लाहकार लगायतको अनुभव पनि उनीसँग छ ।

नेपाली होटल व्यवसायी संघमा २ कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि उनीसँग छ । उनी उक्त संस्थामा हाल संरक्षकको जिम्मेवारीमा छन् ।

व्यावसायिक क्षेत्रका साथै उनी शैक्षिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । थापा २०५३ सालमा मिलन टोल सुधार समाजको संस्थापक अध्यक्ष थिए । हाल ग्रिनफिल्ड एजुकेसन फाउन्डेसन बाफल र कखरा मन्टेश्वरीको अध्यक्ष तथा तनहुँ मगर संघको सल्लाहकारको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

व्यवसायीमाझ इमानदार छवि

देशभरका होटल व्यवसायीहरूमाझ थापा एक मिलनसार र इमानदार व्यक्तित्वका रूपमा चिनिन्छन् । कामलाई नै मुख्य जिम्मेवारी र धर्म ठान्ने उनको कार्यशैलीका कारण सबै सदस्यहरूसँग उनको सम्बन्ध सुमधुर रहेको बताइन्छ । देशभरका व्यवसायीहरूको भावना बुझ्न सक्ने र समस्या समाधानमा खरो उत्रन सक्ने नेतृत्वका रूपमा थापालाई हेरिएको छ ।

अधिवेशनको तयारी अन्तिम चरणमा, पर्यटन प्रवर्द्धनको अपेक्षा

यसैबीच, पोखरामा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा देशभरका होटल व्यवसायीहरूको जमघट हुनुले यहाँको सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.