युवा र बौद्धिक पलायन रोक्न अत्यावश्यक : श्रमिक जि.सी.

पोखरा । प्रदेससभा सदस्यका स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले युवा पलायन र बौद्धिक पलायनलाई रोक्न अत्यावश्यक रहेको बताएकी छन् ।

मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार जि.सी.यतिबेला पोखरेली जनतासँगको भेटघाटमा सक्रिय छन् । ‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी जि.सी.ले जनतासँगको भेटघाट तथा छलफलका क्रममा अब युवा पलायनलाई रोक्न अति आवश्यक भएको बताएकी हुन् ।

स्वदेशमै भनेजस्तो अवसर नपाए पछि शिक्षित, सक्षम युवा तथा बौद्धिक व्यक्ति पलायन हुन बाध्य भइरहेको उनले बताइन् । नेपालमा सोचेअनुसारको काम नपाए पछि अवसरको खोजीमा शिक्षक, डाक्टर, नर्सहरुसमेत विदेशिन थालेका छन् । सरकारले राम्रो प्याकेज, सेवा सुविधाहरु दिएर भएपनि उनिहरुलाई नेपालमै मोटिभेट गर्न सक्नुपर्ने जि.सी.ले बताइन् ।

jutta mela

उसो त नेपालीहरुमा परनिर्भरता हुनुले पनि ठूलो समस्या निम्त्याएको छ । नेपालमा खेतबारीहरु बाँझै छन् तर नेपालीले विदेशबाट आयात भएका उब्जनी खाइरहेका छन् । बाटोघाटोको समस्या, कृषि उब्जनीले बजार नपाउनु, आवश्यक मल, विउविजन पाउन नसक्नुलगायतका कारणले पनि स्वदेशमै केही गर्न चाहने युवा शक्ति पनि विदेशिन बाध्य भएका छन् । बाटोको समस्या, ढुवानी खर्च बढी, बजारको समस्यालगायतका कारण किसानले फालाएका उब्जनी नै गाउँमै खेर गइरहेका छन् ।

किसानको अथक परिश्रमका बाबजुद आम्दानी भन्दा लागत बढी हुन जान्छ । जसले गर्दा युवाहरुको कृषितर्फको आकर्षण पनि घट्दो छ । नेपालको राजनीति र व्यवस्थाले नै आजको समस्या सिर्जना भएको जि.सी.को भनाई छ । अब युवाहरुको जोश जागर, सिपको नेपालमै सदुपयोग गर्न सक्नुपर्ने उनले बताइन ।

त्यसका लागि अबको नेतृत्वमा युवा शक्ति आउन जरुरी रहेको बताउँदै उनले जनताले भोट हाल्ने सोचाइमा परिवर्तन ल्याइ युवा उम्मेदवारलाई जिताउनुपर्ने बताइन । उनले आफू कुनै स्वार्थका लागि नभइ विशुद्ध जनताको सेवाका लागि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको दोहोर्‍याएकी छन् ।

You might also like

Comments are closed.