ट्राभल व्यवसायका अनुभवको ‘पीएचडी’ गरेकी श्रेशु

-दीपा रेग्मी

ट्राभल व्यवसायमा स्थापित नाम हो– श्रेशुु आचार्य । युवा उमेरमै यस क्षेत्रमा स्थापित हुनको लागि श्रेशुको ट्राभलभित्रको ‘ट्राभल’ भने रोमाञ्चक र संर्घष मिश्रित छ । उनी संभवत सबैभन्दा सानो उमेरमा आफै लिड गरेर ट्राभल व्यवसाय गर्नेमा पर्छिन् । उनले १८ वर्षको उमेरमा ट्राभल एजेन्सी खोलेकी हुन्–श्रेशु ट्राभल । २० वर्ष अगाडि श्रेशु ट्राभलबाट शुरू भएको ट्राभल यात्रा अहिले पनि निरन्तर छ मात्र नाम बदलिएको छ– ‘थ्यांक यु ट्राभल’ ।

त्यसो त उनको बाल्यकाल सुखद रूपमा वितेको हो । उनी काठमाडौंको दक्षिणकालीको छैमले (फर्पिङ) मा सम्पन्न परिवारमा जन्मिएकी हुन् । उनी भन्छिन्, ‘मलाई बच्चामा कुनै खालको दुःख भएन, म त्यस क्षेत्रमा सबैभन्दा धेरै धान बेच्ने परिवारको छोरी हो ।’ उनले फर्पिङमै अध्ययन गरिन् । एसएलसीपछि काठमाडौंको थापागाउँमा रहेको एक कलेजमा प्लस टु पढिन् । त्यही बेला जुरेका संयोगले आज सफल व्यवसायी श्रेशु बनाएको हो ।

उनको परिवार एकदमै फरक पृष्ठभूमिको परिवार हो । सम्पन्न परिवार त्यसमा पनि चार दिदी बहिनी र दाजु मध्येकी उनी कान्छी । घरले खर्च पु¥याएकै थियो । उनलाई ध्यान दिएर पढे पुग्थ्यो । उनी बानेश्वरमा दिदीसँग बस्थिन् । एक साँझ उनकी दिदीले उनलाई कामको प्रस्ताव गरिन् । काम, त्यसमाथि ट्राभलसम्बन्धी । उनलाई कुनै आइडिया थिएन । प्लस टु पढ्दै गरेकी उनलाई त्यो प्रस्ताव दिदीमार्फत आएपनि दिदीलाई अरू कसैैले अफर गरेको थियो तर अरू काममा जेडिएकी दिदीले उल्टो आफूतिर पो सारिदिइन् । ‘शुरूमा त मैले जागिर नगर्ने बताएँ, रुचीकै कुरा गर्दा मलाई एयर होस्टेज बन्ने थियो, कि त कानून पढुँ लाग्थ्यो तर दिदीले लगातार प्रेसर र अब घरबाट खर्च नल्याउँ कि भन्ने लागेर अर्को दिन जव गर्ने ठाउँमा गएँ’ उनले भनिन् । १८ वर्ष उमेर पुगेको थिएन तर पनि राम्रोसँग काम गरिन् ।

बानेश्वरदेखि जमलसम्म हिँडेर काम गर्न जान्थिन् । महीनाको २३ सय रुपैयाँ तलब थियो । उनले पहिलो तलब लिएर सबै दिदीलाई दिइन् । ट्रावलमा काम गर्दा मार्केटिङ, टिकेटिङ, आर्थिक, प्रशासनीक सबै काम सिकिन् । ‘म जस्तो खालको काम गर्नको लागि पनि अगाडि सर्ने मान्छे । जहाँ समस्या त्यहाँ समाधान हुन्छ भन्ने उति बेलैदेखि लाग्थ्यो, ’ उनले भनिन् । सबै काम गरेको अनुभवले उनमा आँट पलायो , लाग्यो अब आफ्नै व्यवसाय गरौं । उनको परिवारमा सबै जागिरे थिए, त्यसमध्ये पनि धेरै माथिल्लो तहमा काम गर्ने पनि थिए तर उनलाई त्यसले तानेन् । ‘मसँग लगानी गर्ने त्यति धेरै पैसा पनि थिएन, घरकालाई जागिर गरिदिए हुन्थ्यो भन्ने थियो, व्यवसाय गर्छु भनेर घरमा भन्ने वातावरण पनि थिएन,’ उनले भनिन्, ‘खै एकाएक के आँट आयो, जागिर छाडेर घरमा नभनेरै आफै अफिस खोल्छु भनेर अफिसको लागि कोठा खोज्न हिँडे ।’

व्यवसाय दर्ता गर्न अहिलेजस्तो सहज पनि थिएन । ५० हजार रुपैयाँ धरौटी नै राख्नुपथ्र्यो । त्यसमाथि ट्रेकिङ गाइड, टूर गाइड लगायतका चारओटा लाइसेन्स नै चाहिन्थ्यो , यसको लागि अरुको लाइसेन्स किन्नुपथ्र्यो । उनले कसैलाई एकमुष्ठ पैसा दिएर र कसैलाई किस्तामा बुझाउने शर्तमा लाइसेन्स जम्मा गरिन् ।

उनी अफिसका लागि कोठा खोज्न बागबजार आसपास घुमिन् । जामे मस्जिदभित्र कोठा पाइयो, एउटाको मासिक ५ हजार रुपैयाँ । उनले आफूले संघर्ष गर्न खोजेको र १८ वर्ष उमेर पुग्दै गरेको सुनाएर मूल्य घटाउन आग्रह गर्दा घटाइदिए उनले महीनाको ३ हजारमा कोठा पाइन् । आफै रङ किनेर रङरोगन गरिन् र अफिस दर्ता गर्न गइन् । उनले लागेको थियो ट्राभलको नाम ‘दक्षिणकाली ट्राभल’ राखुँ । ‘तर दक्षिणकाली ट्राभल पहिलै दर्ता रहेछ, वकिलले तिम्रो नाम राम्रो छ, आफ्नै नाम राख भनेर सुझाउनुभयो, त्यसै गरें, ’ उनले भनिन् । दर्ता सिद्धाएपछि कार्यालय व्यवस्थापन गरिन्,काम गरिरहेको भएर पैसा जसोतसो जुटाइन् । कार्यालय सञ्चालनमा आएपछि मात्र उनले घरमा भनिन् । विभिन्न एयरलाइन्ससँग पहिले नै सम्पर्क बढीसकेकोले कामले शुरुदेखि नै गति लियो ।

jutta mela

‘नेपाल एयरलाइन्सले जापान उडानको सुरुआतगर्दा सबैभन्दा धेरै व्यक्ति पठाउने नै म हो , ’ उनले भनिन्, ‘मैले कमाए के भन्ने थाहा छैन, मसँग जोडिएपछि जापान जाने जो कोहीले पटक पटक मेरो ट्राभलबाट गएका छन् मलाई क्लाइन्टले गरेको विश्वास नै मेरो कमाइ हो ।’ कोरोना महामारीको समयमा ‘पोजेटिभ होप’ दिनको लागि लाइभमा बसेर धेरै जापानमा रहेका र जापान जान चाहनेका समस्या समाधान गरेको उनी सुनाउँछिन् । ‘जसको कारण अहिले पनि हामीलाई उहाँहरूले माया दिनहुन्छ । हामी क्लाइन्टको विश्वास जितेर काम गर्छौं । कसैले जापानबाट डिपेन्डेन्टमा लैजाने अथवा बुवाआमा घुम्न बोलाउने योजना बनाउनु भएको छ भने हामीलाई एक कल फोन गरे पुग्छ , हामी त्यसको सबै प्रक्रिया गर्दिन्छौं । उहाँहरू भिएफएक्स, एम्वेसी कतै पनि जानुपर्दैन,भिजा लगाएर पासपोर्ट हातमै आउँछ । यसमा हामीले शून्य लागतमा यो काम गरेका हुन्छौं । हामीले यसरी सेवा दिएर विश्वास जितेका हौं,’ उनले भनिन् । कुरा गर्दा गर्दै वर्तमानमा आएकी श्रेशु फेरि विगततिर फर्किइन् ।

व्यवसायमा हात हालेको मान्छे, अरू व्यसायमा पनि जोडिनुभयो कि ? ‘काम गर्दै जाँदा धेरै कमाएँ पनि, घरमा कमाइ दिनुपर्ने थिएन् ,कतिले पैसा ठग्ने काम पनि गरे ,अफिस एउटा सटरबाट बढेर पाँचओटामा पुगेको थियो, ट्राभल व्यवसायले गति लिए पछि अरु व्यवसाय पनि गरुँ भन्ने लाग्यो, ’ उनले विगत स्मरण गरिन् । लाग्यो मात्र होइन उनले खानेपानीको डिपो खोलेर अर्को व्यवसायमा हात हालिन् । डिपोमा चलाउँदा उनलाई आफै पानी फ्याक्ट्री किन नखोल्ने भन्ने लाग्यो । ४० लाख रुपैयाँको लगानीमा उनले पानी फ्याक्ट्री खोलिन ‘आक्वा–९’ । कपनको निलोपुल नेर उनको ठूलो पानी फ्याक्ट्री थियो । घरमा कान्छी छोरी भएपनि घर व्यवहारका धेरै जिम्मेवारी उनलाई परिवारले दिएको थियो । यो व्यवसायबाट पनि राम्रो गर्छ भन्ने लागेरै परिवारले साथ दियो । तर दोहोरो व्यवसायले उनलाई समय व्यवस्थापन गर्न गाह्रो हुँदै गएको थियो ।

‘बिहान ४–५ बजे पानी फ्याक्ट्रीमा जान्थें, त्यसपछि अफिस खाना खानको लागि फुर्सद नहुने गरी व्यस्तता थियो,’ उनले भनिन्, ‘काम कामभन्दा भन्दा खासमा मैले आफ्नो जीवन जिएको थिएन, अरुले पनि त्यस्तै भन्थे ।’ पानीको माग बढी नै थियो । प्रतिदिन दुई हजार जार पानी फ्याक्ट्रिको क्षमता थियो । मागअनुसार पानी पु¥याउन नसक्ने अवस्था थियो तर पनि उनले यसमा घाटा खाइन् । किन त ? ‘मलाई मेरा कर्मचारीले धोका दिए, उनीहरूसँग रिसाए मिसावट गरेर गडबढ गरिदेलान भन्ने डर, उनीहरूलाई कडाईं गर्न सकिने अवस्था थिएन, ’उनले भनिन्, ‘ उनीहरूले के गर्दा रहेछन् भने फ्याक्ट्रमा हप्तै पिच्छे नयाँ जार किन्ने, बजारमा व्यवसायीसँग मिलेर पैसा खाएर प्वाल परेका जार जम्मा गर्दा रहेछन् ।’ उनको स्टोरमा प्वाल परेका चार हजार जार थुप्रिए, उनलाई लाग्यो अब यसरी अगाडि बढ्न सकिन्न । उनले भनिन् , ‘अन्तत मैले ४० लाख लगानीमा खोलेको पानी फ्याक्ट्री २ लाख ८० हजार रुपैयाँका विक्री गरें ।’

पानी फ्याक्ट्रीबाट घाटा त भयो तर केही सिकाई पनि भयो । उनलाई यसले झन् बलियो बनाएको छ । बीचमा उनले श्रेशु ट्राभललाई पूर्णविराम लगाएर सिटी एक्सप्रेससँग जोडिएर सिटी कनेक्ट ट्राभलमा रहेर काम गरिन् । तर सोंचे जस्तो भएन, उनलाई बस्न मन लागेन । त्यहाँबाट बाहिरिइन् । आफूलाई आइडिया भएको व्यवसाय भनेकै ट्राभलको थियो । दर्ता गर्नेबेला ज्योतिषलाई नाम जुराउन लगाइन् । अग्रेजीमा ‘टी’ र नेपालीमा ‘थ’ बाट नाम राख्न सुझाइयो । उनले यही सुझावमा टेकेर ‘थ्यांक यु ट्राभल’ खोलिन् । लगातार उनको संघर्षले झांगिएको ‘थ्यांक यु’ नाममा मोह बसेको उनलाई अब ‘थ्यांक यू’ लाई ग्रुपकै रूपमा अगाडि बढाउन मन छ ।

उनले भ्रखर ‘थ्यांक यू होस्टेल’ पनि सञ्चालनमा ल्याएकी छिन् । उनलाई अब ‘थ्यांक यू’ होटल खोल्न मन छ । ‘थ्यांक यू गिफ्ट’ उनले यस अघि नै खोलेको व्यवसाय छ तर कोरोना महामारीका कारणबीचमा बन्द भयो त्यसलाई निरन्तरता दिने उनको सोंच छ । यसबाट देशभर विभिन्न गिफ्ट पु¥याउन सकिएको थियो ।

उनी व्यवसायमा स्वस्थ प्रतिस्पर्धा गर्न चाहेको बताउँछिन् । व्यवसायमा त्यही गर्दै आएको बताउँछिन् । सबैभन्दा ठूलो कुरा क्लाइन्टको मन जित्न आफू सफल भएको सुनाउँछिन् । त्यसको लागि क्लाइन्टलाई सफा मनले गरेको सेवा नै कारण रहेको उनको भनुभव छ । ‘मैले नेपालबाट जापानमा महीनामा २–३ सयजनालाई औषधि पठाउँछु । जापानमा डिप्रेसन, एन्जाइटी लगायतका बिरामीले मलाई निरन्तर औषधिकोे लागि आग्रह गर्छन । मैले उनीहरूलाई कुनै पनि शुल्क नलिएर औषधि पुर्याउँदै आएको छु, ’ उनले भनिन् । क्लाइन्टको यो निकटताले क्लाइन्ट होइन , आफन्तको रूपमा आफूले हेर्ने उनको भनाइ छ । ‘मलाई उहाँहरू आफन्त जस्तो लाग्छ । जापानमा कुनैपनि ट्राभलले हातमा पूरा पैसा नआएर टिकट दिएको हुँदैन तर मैले उसँग पैसा छैन भने किस्ता बन्दीमा पैसा तिर , तलब आएपछि दिनु भन्दै आएको छु, ’ उनले सुनाइन् ।

उनी आफूले धेरै काम निशुल्क गर्दा टिकटको रकम अरुले भन्दा कम लिने गरेको दावी गर्छिन् । ‘टिकटको शुल्क सके अरुको भन्दा कम होला तर एक रुपैयाँ पनि बढी हुन्न । डकुमेन्टेसन सबै फ्रि, त्यसमाथि टिकट सबैभन्दा सस्तो भएका कारण हामी प्रिय छौंं, ’उनले भनिन् । व्यवसाय गर्दागर्दै २०६७ सालमा बिहे उनले गरिन्, अहिले उनको छोरा पनि छन् कक्षा ५ मा पढ्दैछन् । दुवईमा होटल व्यवसायमा संलग्न रहेका श्रीमान्को व्यवसाय राम्रै चलेको थियो । उनका बुवा वितेपछि श्रेशु मानसिक रूपमा बिछिप्त भइन् । श्रीमान् ‘थ्यांक यू’ को मेरुदण्ड बन्न नेपाल फर्किए । उनले भनिन्, ‘अहिले थ्यांक यूको धेरै जिम्मेवारी उहाँले नै हेर्नुभएको छ, उहाँमात्र होइन् हामी सबै कर्मचारी परिवार भित्रका छौं ।’
दुई दशक ट्राभल सेक्टरमा बिताएकी उनले यसमा धेरै कुरा सिकिन् । उनले यसलाई पीएचडी गरेको भन्छिन् । ‘मैले ट्राभल सेक्टरमा २० वर्ष विताएर यस सेक्टरमा पीएचडी गरें भन्ने लाग्छ,’ उनले भनिन्, ‘पैसाको व्यवस्थापन र विश्वास भन्ने कुरा ठूलो हो भन्ने सिकाई पीएचडीको सर्टिफिकेट हो ।’

You might also like

Comments are closed.