श्यामकल श्रेष्ठ
पूर्व केन्द्रीय सदस्य, क्यान महासंघ एवं प्रवन्ध निर्देशक, आईकन सफ्ट
क्यान महासंघ सूचना प्रविधिसंग आवद्ध रहेका व्यक्ति तथा संघ संस्थाहरुको साझा चौतारी हो । देशलाई समृद्ध बनाउने औजारको रुपमा प्रविधिलाई प्रयोग गर्नु अनिवार्य छ । सूचना प्रविधिको प्रयोगले मानिसमा रहेको अन्तरनिहित सद्गुणलाई जागृत गर्दै उनीहरुको बृत्ति विकाससंगै सम्बन्धित क्षेत्रको लागि दक्ष जनशक्तिको उत्पादन, रोजगारी सिर्जना तथा आयस्रोतको सुनिश्चितता गरी व्यक्ति, संस्था तथा देशको दीगो आर्थिक विकासमा योगदान दिनुको साथै बौद्धिक पलायनलाई रोक्न सकिन्छ ।
सूचना प्रविधि, कृषि, पर्यटन, उद्योग, व्यापार तथा सेवामूलक संस्थाहरु जस्ता क्षेत्रहरुमा प्रविधिको प्रयोग गरी उनीहरुलाई आवश्यक जनशक्ति, प्राविधिक सहयोग, सूचना तथा जानकारी एवं व्यवस्थापनलाई मुख्य आधार बनाएर महासंघलाई निजी क्षेत्रको प्रतिनिधिमूलक गैरसरकारी संस्थाको रुपमा स्थापित गर्न योगदान गर्न हामी प्रयासरत छौं ।
विदेशी सफ्टवेयरलाई निरुत्साहित गर्दै आफ्नै देशमा र आफ्नै जनशक्ति प्रयोग गर्दै सफ्टवेयरहरु उत्पादन गरी प्रयोग गर्न सकेमा नेपालको पूँजी नेपालमा नै परिचालन, रोजगारीको सिर्जना, नेपालको सूचनाहरु सुरक्षित, प्रविधिको विकास हुनेछ । समग्रमा भन्नुपर्दा देशको आर्थिक विकासमा योगदान पुग्ने कुरामा म विश्वस्त छु । यस विषयमा क्यान महासंंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक छ । सामान्य रोजगारीको लागि विदेशमा जानुभन्दा स्वदेशमा नै रहेर कम लगानीमा राम्रो आम्दानीको श्रोत बनाउन सक्ने क्षेत्र नै सूचना प्रविधि हो भन्ने मलाई लाग्छ ।
यस प्रविधिमा कार्य गरी आम्दानी बढाउन अपार सम्भावना हुँदाहुँदै पनि नेपालमा यस सम्बन्धि उपयुक्त कानूनको अभावमा नेपालमा नै भइरहेका कार्यहरुले पनि बैधानिकता नपाएको अवस्था र राज्यले करको रुपमा आम्दानी गुमाइरहेको अवस्था यथार्थ हो । प्रविधिको विकासमा नेपाल सरकारले उद्योग स्थापना, विकास, विस्तार तथा सेवामा तदारुक्ता देखाउने हो भने युवा पलायनलाई केही हदसम्म रोक्न सक्ने मैले ठानेको छु ।
Comments are closed.