पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा युवा व्यवसायी सोवित पौडेलले उम्मेदवारी प्रस्तुत गरेका छन् । उनले स्वतन्त्र समूहबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
कोरोना महामारीको विषम परिस्थितिमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ र सबैलाई समेट्नुपर्छ भन्ने मान्यताका साथ आफूले भूमिका निर्वाह गरेपनि सबैलाई समेट्ने काम नभएपछि बाध्य भएर स्वतन्त्र समूहबाट उम्मेदवारी प्रस्तुत गर्नुपरेको पौडेलले बताए । ‘मनोनयनको मिति नजिकिदासम्म पनि मैले आफ्नो उम्मेदवारी घोषणा नगरी सहमतिको लागि पहल गरेको थिएँ,’ उनले भने, ‘त्यो प्रयास सफल नहुँदा दुःख लागेको छ ।’
स्वतन्त्र प्यानलबाट उम्मेदवारी प्रस्तुत गरिहँदा पोखराका धेरै भन्दा धेरै उद्योगी व्यवसायीहरुको मन र विश्वास आफूले जित्नेमा ढुक्क रहेको पौडेलले आर्थिक आवाजलाई बताए । ‘निजी क्षेत्रको हकहितका लागि हामीले संघमा रहेर योगदान पुर्याउने हो,’ पौडेलले भने, ‘सबैको विश्वास लिएर म अगाडि बढ्नेछु । त्यो अवसर पाउनेमा म ढुक्क छु ।’
संघको यस अगाडिको महाधिवेशनमा कार्यसमिति सदस्यमा पौडेलले लोकप्रिय मत प्राप्त गरेका थिए । ओम साखिमी सप्लायर्स, डाफे होटल प्रालि, विन्ध्यबासिटी पार्टी प्यालेस, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका सञ्चालक पौडेल बिगत १६ वर्षदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छन् । लायन्स, जेसिज लगायत विभिन्न संघसंस्थामा पौडेलको आबद्धता छ ।
‘संघको गरिमालाई उच्च बनाउन वाणिज्य उपाध्यक्ष बनेर भूमिका निर्वाह गर्नेछु,’ उनले भने, ‘सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु ।’ संघको महाधिवेशन पुस २४ र २५ गते हुँदैछ । स्वतन्त्र प्यानलको अध्यक्षमा विन्दु कोइराला सुवेदीले उम्मेदवारी दिदैछन् ।







Comments are closed.