विराटनगर । निजी उर्जा उत्पादकहरूको लगानीमा निर्माण सम्पन्न भएको ८२ मेगावाटको दोस्रो ठुलो जलविद्युत आयोजना तल्लो सोलु हाइड्रोले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ ।
सोलु खोलामा ‘रन अफ रिभर’ प्रणालीमा निर्माण सम्पन्न भएको तल्लो सोलुले साउन ५ गते मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । तल्लो सोलु हाइड्रोका आयोजना प्रमुख श्रीधन खनालले साउन २२ बाट व्यवसायिक उत्पादन सुरु गरिएको जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको रोहबरमा परीक्षण उत्पादन सम्पन्न गरेर व्यवसायिक उत्पादन सुरु गरेको उनले बताए ।
यद्यपि प्राधिकरणले परीक्षण उत्पादन सकेर व्यवसायिक उत्पादन भएको औपचारिक घोषणा भने गर्न बाँकी रहेको आयोजना प्रमुख खनालले बताए दिए । ‘आयोजनाले सफलतापूर्वक परीक्षण उत्पादन पुरा गरेको छ’ आयोजना प्रमुख खनालले भने, ‘साउन २२ बाटै व्यवसायिक उत्पादन भएको जानकारी प्राधिकरणलाई निवेदनमार्फत बुझाएका छौं ।’
परीक्षण उत्पादनकै समयदेखि तल्लो सोलुबाट उत्पादित विद्युतलाई सोलुखुम्बुको तिङ्ला सवस्टेशनबाट ९२ किलोमिटर लामो सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रशारण लाइनमार्फत सिरहाको मिर्चैयास्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जोडिएको हो ।
तल्लो सोलु जलविद्युत आयोजनाको हेडवक्र्स (बाँध) सोलुदुधकुण्ड नगरपालिका–७ साल्मेमा छ । त्यहाँबाट ४.२ किलोमिटर लामो सुरुङ मार्ग र २ किलोमिटर लामो भूमिगत पेनस्टेकमार्फत वडा नम्बर ११ को भदौरेमा निर्मित विद्युत् गृहमा पानी झारेर विद्युत् उत्पादन गरिएको छ ।
विद्युत गृहबाट नवनिर्मित ४.१२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रशारण लाइनबाट तिङ्ला सवस्टेशनमा जोडिएको जनाइएको छ । तल्लो सोलु जलविद्युत आयोजनामा नेदरल्याण्डस् डेभलपमेन्ट बैंक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंकमार्फत वित्तीय व्यवस्थापन गरिएको थियो ।
सरकारले यो आयोजना ‘सुपर सिक्स’ मा राखेर प्रतिष्पर्धामार्फत लगानीकर्ता छनौट गरेको थियो । करिब १७ अर्ब रूपैयाँको लागतमा यो आयोजना निर्माण सम्पन्न भएको जनाइएको छ । विभिन्न बाधा अवरोधका वावजुद पनि आगामी सेप्टेम्बरमा व्यवसायिक विद्युत गरिसक्ने लक्ष्य थियो । तर त्यस अगावै व्यवसायिक उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ ।
Comments are closed.