प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा सीता र रोशन प्रथम

पोखरा । पोखरामा शनिबार सम्पन्न प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीता कुमारी खड्का प्रथम भएका छन् ।

कास्की जिल्ला जिम्न्यास्टिक संघले प्रतियोगिताको आयोजना गरेको हो । महिलातर्फ सीता कुमारी प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भएका छन् । यस्तै, पुरुषतर्फ रोशन सर्वोत्कृष्ट रहँदा कास्कीकै विशाल पुन द्वितीय र बाग्लुङका कृष्ण कँडेल तृतीय भएका छन् ।

प्रतियोगितामा विजेताहरुले नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

jutta mela

मन्त्री गुरुङले जिम्न्यास्टिक खेललाई बालबालिका तहसम्मै लिएर प्रतियोगिता आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले पोखरा रंगशालामा जिम्न्यास्टिक खेल अभ्यासका लागि स्थान उपलब्ध गराएको जानकारी गराउँदै गण्डकी प्रदेश सरकार यस खेल विकासको लागि प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका संघ कास्कीका कार्यवाहक अध्यक्ष राजु कायस्थले प्रत्येक खेलका लागि जिम्न्यास्टिक सहायक खेल भएकोले ‘मदर अफ स्पोर्टस्’ अर्थात् जिम्न्यास्टिकलाई खेलको जननी मानिएपनि सोअनुसार प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सचिव प्रकाशचन्द्र सापकोटाले व्यक्तिको सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननीरूपमा रहेकाले राज्यले नै यसको विकासका लागि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा स्वागत सहसचिव राजु केसीले गरेका थिए ।

नेपालमा २०२३ सालमा जापानी सहयोगमा जिम्न्यास्टिक खेलको सुरुवात भएको पाइन्छ । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेको थियो । जिम्न्यास्टिक संघ नेपालको पुरानो संघमा पर्छ, तर राज्यको प्राथमिकतामा नपर्दा आफ्नो अस्तित्व जोगाउन अहिलेपनि संघर्ष गरिरहेको छ ।

 

You might also like

Comments are closed.