काठमाडौं ।स्टाण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६१.३६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दास्रो त्रैमाससम्म स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले वृद्धि भई १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा बढाउन सफल भएको हो । वित्तिय विवरण अनुसार बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासम्म ०.४४ प्रतिशत खराब कर्जा भएकोमा चालु आर्थिक वर्षको त्रैमाससम्म यस्तो खराब कर्जा बढेर ०.७२ प्रतिशत कायम भएको छ ।
बैंकले खुद ब्याज आम्दानी ७२.३० प्रतिशतले बढेर २ अर्ब ८४ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६५ करोड १८ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ६१.९१ प्रतिशतले बढेर २ अर्ब ५१ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकले सञ्चालन मुनाफामार्फत ८६ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ भने फ्रि एण्ड कमिशनमार्फत् ६२ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले फ्रि तथा कमिशनबाट ४६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६९ पैसाले बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा छ ।
Comments are closed.