नेपाली ब्याट्री ब्राण्ड ‘एसटीसी’ : वार्षिक १८ लाख ब्याट्री उत्पादन क्षमता, विदेश निर्यात सुरु

हेटौंडा । नेपाली अटोमोबाइल क्षेत्रमा चिरपरिचित नाम हो, सुरेन्द्रकुमार उप्रेती (सुरेश) । उनी प्रवन्ध निर्देशक रहेको एसटीसी ग्रुपले बिगत लामो समयदेखि विभिन्न ब्राण्डका अटोमोबाइल पाट्र्सहरु आयात गरी बिक्री गर्दै आइरहेको छ । अटोमोबाइल कम्पोनेन्टको बिक्री वितरणमा यो समूहले अग्रणी पहिचान बनाएको छ ।

देशभर रहेका अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी हाल दोस्रो कार्यकाल महासचिव भएर काम गरिरहेका छन् । पाट्र्सहरु आयात गरी बिक्री विरतण गर्ने क्रममा उनले देशभर राम्रो व्यावसायिक नेटवर्क बनाइसकेका छन् । अटोमोबाइल क्षेत्रमा सफल व्यावसायिक यात्रा अगाडि बढाइरहँदा आफ्नै देशमा केही प्रडक्ट उत्पादन गर्नुुपर्छ भन्ने योजना उनले एक दशक अगाडि नै बनाइसकेका थिए । अन्ततः उनको नेतृत्वमा एसटीसी ग्रुप अन्तर्गत नेपालमै सुरु भयो, ब्याट्री उत्पादन उद्योग ।

एसटीसी ग्रुपले मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रमा ‘एसटीसी इनर्जी इन्डष्ट्रिज प्रालि’ स्थापना गरी ब्याट्रीको व्यावसायिक उत्पादन सुरु गरेको एक वर्षभन्दा बढी भइसकेको छ । २१ रोपनी जग्गामा स्थापना भएको प्लान्टमा हालसम्म ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको प्रवन्ध निर्देशक उप्रेतीले जानकारी दिए । उद्योगले ‘एसटीसी राइड’ र ‘एसटीसी इनर्जी’ गरी दुई ब्राण्डमा ब्याट्री उत्पादन गरिरहेको छ ।

देशभर बजारको पहुँच
नेपालमै उद्यम व्यवसायको क्षेत्रमा केही गर्ने हुटहुटीबाट जन्मिएको स्वदेशी ब्याट्री ब्राण्ड एसटीसी राइड र इनर्जीले नेपालभरको बजारमा आफ्नो पहुँच पु¥याइसकेको छ । हाल देशभर २ सय भन्दा बढी डिलर नेटवर्कमार्फत यो ब्याट्री बिक्री हुँदै आइरहेको छ । ‘हामी अझै बजार विस्तार गर्ने र उत्पादन बढाउने तयारीमा छौं,’ उप्रेतीले भने ।

आयात प्रतिस्थापनको लक्ष्य
बाहिरबाट ठूलो मात्रामा आयातीत ब्याट्रीलाई विस्थापित गर्न स्वदेशमै ब्याट्री उत्पादन गर्न थालिएको उप्रेती बताउँछन् । ‘हामीले ब्याट्रीको आयातलाई एकैपटक विस्थापित गर्न सकिदैन । तर क्रमशः आयात घटाउन सकिन्छ,’ उनले भने, ‘ब्याट्री आयात घटाउन हामीले थोरै भएपनि योगदान गर्न सक्नेछौं ।’ नेपालमा केही वर्ष पहिला बाहिरी मुलुकबाट वार्षिक २५ अर्ब बराबरको ब्याट्री भित्रिन्थ्यो । पछिल्ला वर्षहरुमा भने वार्षिक १२ अर्ब भन्दा बढीको ब्याट्री भित्रिने गरेको छ ।

वार्षिक १८ लाख ब्याट्री उत्पादन क्षमता
उद्योगले दुईपाँग्रे, चारपाँग्रे सवारीसहित तीनपाँग्रे इ–रिक्सा र इन्भर्टर ब्याट्री उत्पादन गरिरहेको छ । बिगत एक वर्षको डाटा अनुसार कम्पनीले टुह्विलर्सको लागि मासिक २५ हजार ब्याट्री उत्पादन गरिरहेको छ भने चारपाँग्रे तथा बसहरुका लागि मासिक २० हजारको हाराहारीमा ब्याट्री उत्पादन गर्दै आइरहेको छ । अबका दिनमा वर्षेनी ब्याट्री उत्पादन बढाउने लक्ष्य रहेको उप्रेतीले जानकारी दिए । उद्योगको ब्याट्री उत्पादन क्षमता वार्षिक १८ लाख छ ।

क्वालिटीमा विदेशी ब्राण्डसँग प्रतिस्पर्धा, मूल्य सस्तो
यो समूहले उत्पादन गरेका ब्याट्रीहरु विदेशका प्रतिष्ठित ब्याट्री ब्राण्डहरु सरह गुणस्तरीय रहेको उद्योगका क्वालिटी कन्ट्रोल तथा प्रडक्ट हेड सुन्दर मूर्तिले बताए । लामो समयको अध्ययन र अनुसन्धानपछि कम्पनीले गुणस्तरीय ब्याट्री बजारमा ल्याउन सफल भएको छ । ‘विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न हामी सफल छौं,’ मूर्तिले भने, ‘नेपाली ब्राण्डलाई नेपाली ग्राहकले पनि विश्वास गरेको अवस्था छ ।’

सुन्दर मूर्तिसँग विदेशका प्रतिष्ठित ब्याट्री ब्राण्डमा काम गरिसकेको अनुभव छ । उनको नेतृत्वमा क्वालिटी चेक गरी एसटीसी ब्याट्री उत्पादन हुँदै आइरहेको छ । उद्योगमा सुन्दर मूर्तिसँगै अन्य दक्ष प्राविधिक तथा कर्मचारीहरु आबद्ध छन् । क्वालिटीमा विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको यो ब्याट्रीको मूल्य भने ४० प्रतिशतसम्म कम रहेको प्रवन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।

व्याट्रीमा ६ वर्षसम्मको वारेन्टी, समस्या आए रिप्लेसमेन्ट
कम्पनीले गुणस्तरीय ब्याट्री उत्पादनलाई प्राथमिकतामा राखेको छ । ‘क्वालिटी कन्ट्रोललाई हाम्रो दक्ष प्राविधिकहरुको टिमले नजिकबाट नियालिरहेको छ । गुणस्तर नै हाम्रो पहिलो प्राथमिकता हो,’ उप्रेती भन्छन्, ‘यो संवेदनशील व्यवसाय हो । हाम्रो प्रडक्टको गुणस्तरमा हामी सचेत छौं ।’

कम्पनीले टुह्वीलर र अटोमोटिभ ब्याट्रीमा ३६ महिनाको वारेन्टी दिइरहेको छ भने इन्भर्टर ब्याट्रीमा ६० महिनाको वारेन्टी दिएको छ । इ–रिक्सा ब्याट्रीमा १२ महिनाको वारेन्टी छ । कुनै ब्याट्रीमा समस्या आएमा नयाँ ब्याट्री नै रिप्लेसमेन्ट गरिने उप्रेतीले जानकारी दिए । ‘बिक्री भएको ब्याट्रीमा समस्या नआउने गरी काम गरेका छौं । कहिलेकाहीँ समस्या आइहालेमा रिप्लेसमन्टको ग्यारेन्टी भएकाले पनि हाम्रो ब्राण्डप्रति ग्राहकहरु ढुक्क हुन सक्नुहुन्छ ।’

विदेशमा निर्यातको सुरुवात
आयात घटाउने लक्ष्यबाट उत्पादन सुरु गरेको उद्योगको प्रडक्ट विदेशमा निर्यात समेत सुरु भइसकेको छ । पहिलो चरणमा उद्योगले भारतमा निर्यात सुरु गरेको हो । बिगत एक वर्षको अवधिमा भारतमा विभिन्न पटक ब्याट्री निर्यात गरिसकेको छ । भारतबाट समेत ब्याट्रीमा राम्रो प्रतिक्रिया आएको उप्रेतीले जानकारी दिए । भारतसँगै अन्य देशहरुमा पनि निर्यातको पहल भइरहेको उनले बताए । भारतमा निर्यात अगाडि भारतको ब्युरो अफ इन्डियन स्ट्याण्डर्ड (बिआइएस)बाट गुणस्तर मान्यता प्राप्त गर्नुपर्छ । एसटीसी ब्याट्रीले यो मान्यता प्राप्त गरिसकेको छ ।

अन्तर्राष्ट्रिय अत्याधुनिक प्रविधि
जापान, चीन र भारतबाट अत्याधुनिक प्रविधिको आयात गरी उद्योग सुरु गरिएको उप्रेतीले जानकारी दिए । आधुनिक प्रविधिका उपकरणहरु पूर्ण स्वचालित छन् । क्वालिट्री कन्ट्रोलदेखि अन्य प्राय सबै प्रोसेसहरु स्वचालित मेसिनहरुमार्फत हुने गरेको छ ।

You might also like

Comments are closed.