बेनी अस्पतालः आकस्मिक बाहेकको सेवा ठप्प

म्याग्दी । ३ महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

उनीहरुले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन्  ।

“अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,” उनले भनिन् “अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।”

jutta mela

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगङ्गा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउदा समस्या भएको बताए ।

बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देबी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुखेसो व्यक्त गरिन् । दृष्टिबिहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिइ घर फर्कदा दुःख मात्र पाएको गुनासो गरे ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई वटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए ।

लेखापाल सुबेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भएपनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र ब्यवस्थापन समितिबीच छलफल गरेर सेवा सञ्चालन गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताए ।

You might also like

Comments are closed.