मौलिक नेपाली गहनामा निर्यातको सम्भावना

– सुदिप महर्जन –
कार्यसमिति सदस्य, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, संयोजक, निर्यात प्रवर्द्धन समिति

नेपाली मौलिक कला र संस्कृति झल्किने गहनाहरूको माग अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको छ । विशेषगरी नेपालीहरू बसोबास गर्ने विदेशी मुलुकहरूमा हाम्रा परम्परागत गहनाहरूको आकर्षण निकै उच्च छ । हाल म सञ्चालक रहेको ‘आर बी जेम एण्ड ज्वेलरी इन्डस्ट्री प्रा.लि.’ इमाडोल ललितपुरले अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा नेपाली गहना निर्यात गर्दै आइरहेको छ । यस क्षेत्रमा पु¥याएको योगदानका कारण हामीले शीर्ष निर्यातक अवार्ड समेत प्राप्त गरिसकेका छौं । तर, यो त केवल सुरुवात मात्र हो । नीतिगत सुधार हुने हो भने यस क्षेत्रबाट नेपालले वार्षिक अर्बौंको विदेशी मुद्रा आर्जन गर्न सक्ने देखिन्छ ।

नेपाली डायस्फोराः हाम्रो मुख्य बजार

हाम्रो निर्यातको प्राथमिक लक्ष्य विदेशमा रहेका नेपालीहरू (नेपाली डायस्फोरा) नै हुन् । नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो संस्कार, संस्कृति र पहिरनप्रति निकै सचेत र गर्व गर्ने गर्दछन् । चाडपर्व, विवाह र अन्य विशेष सांस्कृतिक उत्सवहरूमा नेपालीहरूले आफ्नै मौलिक ‘ड्रेसिनल’ गहनाहरू लगाउन रुचाउँछन् ।

अमेरिकाकै उदाहरण लिने हो भने, त्यहाँ करिब ७ देखि ८ लाख नेपालीहरू बसोबास गर्छन् । यदि हामीले त्यहाँ रहेकामध्ये केवल १ लाख नेपालीलाई मात्र लक्षित गर्न सक्यौं भने पनि यसको नतिजा उत्साहजनक देखिन्छ ।

अर्बौंको निर्यात सम्भावना

निर्यातको सम्भावनालाई एउटा सामान्य हिसाबबाट पनि बुझ्न सकिन्छ । यदि अमेरिका, बेलायत र अष्ट्रेलिया विदेशमा रहेका १ लाख नेपालीले वर्षभरिको विभिन्न चाडबाड वा अवसरमा औषत ५ ग्राम मात्र सुनका गहना खरिद गरे भने पनिः कुल परिमाणः १,००,००० व्यक्ति × ५ ग्राम = ५,००,००० ग्राम (५ सय केजी) सुन खपत हुन्छ ।

सुन मात्र होइन, नेपाली कालीगढले तयार पारेका डायमण्ड (हीरा) का गहनाहरूमा पनि उत्तिकै राम्रो सम्भावना छ । कुल परिमाणः १,००,००० व्यक्ति × १ क्यारेट = १,००,००० क्यारेट डायमण्ड’ खपत हुन्छ ।

आर्थिक मूल्य : आजको सुनको र डायमण्डको बजार मूल्य अनुसार हिसाब गर्दा यो रकम वार्षिक अर्बौं रुपैयाँ हुन आउँछ ।

यसरी गहना निर्यात मार्फत ठूलो परिमाणमा विदेशी मुद्रा नेपाल भित्र्याउन सकिन्छ, जसले देशको शोधनान्तर स्थितिमा समेत सकारात्मक प्रभाव पार्छ । यसमा नेपाल सरकारको कुनै घाटा छैन । निर्यातको लागि विदेशी मुद्रा अग्रिम भुक्तानी आउनेछ । नेपाली ज्वेलर्सले भ्यालु एडिशन गरेर गहना बनाएर निर्यात गर्ने हो ।

मुख्य चुनौतीः महँगो लागत र नीतिगत अड्चन

अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना हुँदाहुँदै पनि हामीले केही प्राविधिक र नीतिगत समस्याहरू झेलिरहेका छौं ।

भन्सार दर र मूल्यको प्रतिस्पर्धा : राष्ट्र बैंकले वाणिज्य बैंकहरूमार्फत सुन आयातको कोटा तोकेको हुन्छ । आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार महसुलले गर्दा नेपालमा निर्मित गहनाको लागत अन्तर्राष्ट्रिय बजारको तुलनामा महँगो पर्न जान्छ ।

स्पट प्राइस र अन्तर्राष्ट्रिय बजार 

अन्तर्राष्ट्रिय बिटुबि बजार व्यापार लेनदेन ‘इन्टरनेशनल स्पट प्राइस’ अनुसार चल्छ । तर नेपालमा कच्चा पदार्थमै १० प्रतिशत बढी लागत लाग्ने भएकाले विदेशमा रहेका नेपाली गहना व्यवसायहरू नेपालबाट गहना मगाउनुभन्दा विदेशमै बनाउन सस्तो पर्न थालेको छ । यसको विकल्पको रूपमा विदेशमा रहेका नेपाली ज्वेलर्सले दुबई, सिंगापुर, हङकङ आदिबाट आफ्ना गहनाहरू उत्पादन गरिरहेका छन् । यो हाम्रो लागि गुमेको अवसर हो । सुन तथा हीराका गहना निर्यातमा भन्सार छुटको व्यवस्था नभएका कारण केही गहना उत्पादकहरूले नेपालमा आफ्ना कारखानाहरू बन्द गरेर दुबईमा स्थानान्तरण गरेका छन् । यसले गर्दा हाम्रा मौलिक गहनाको निर्यातमा बाधा पुगेको छ

सरकारसँगको अपेक्षा : ‘ड्युटी ड्र ब्याक’ र सहज नीति

नेपाली गहनालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकारले निर्यातमुखी नीति अवलम्बन गर्नुपर्छ । निर्यात गर्ने प्रयोजनका लागि आयात गरिने कच्चा पदार्थ (सुन÷चाँदी) मा लाग्ने भन्सार शुल्कमा ‘ड्युटी ड्र ब्याक’को व्यवस्था हुनुपर्छ । जबसम्म नेपालको गहनाको मूल्य अन्तर्राष्ट्रिय बजारको स्पट प्राइससँग मेल खादैन, तबसम्म हामीले ठूलो स्तरमा निर्यात बढाउन सक्दैनौं ।

नेपाली गहना केवल धातुका टुक्रा मात्र होइनन्, यी हाम्रा कला, संस्कृति र पहिचानका वाहक हुन् । यदि सरकारले भन्सार दरमा सहुलियत दिने र निर्यात प्रक्रियालाई सहज बनाउने हो भने, गहना व्यवसाय नेपालको अर्थतन्त्रको एक बलियो खम्बा बन्न सक्छ । डायस्पोरामा रहेका लाखौं नेपालीलाई हाम्रा मौलिक गहनासँग जोड्न सके वार्षिक अर्बौंको वैदेशिक मुद्रा भित्र्याउन कत्ति पनि गाह्रो छैन ।

सुन बाहेक नेपालबाट निर्यात हुने सबै वस्तुहरूमा ड्युटी ड्र ब्याक उपलब्ध छ । आर्थिक वर्ष २०८१-८२ को बजेटमा घोषणा गरेको बण्डेड वेयरहाउस सकेसम्म चाँडो कार्यान्वयन गरिनुपर्छ । सुन तथा हीराका आभूषण उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्षम हुनेछ । नेपालमा रोजगारीको प्रमुख स्रोतमध्ये जेलवेरी उद्योग एक हो । निर्यात प्रवद्र्धन गर्नाले रोजगारीमा उल्लेखनीय वृद्धि हुनेछ ।

You might also like

Comments are closed.