व्यवसायीलाई राहत दिन सुनौलो सहकारीले घटायो कर्जाको ब्याजदर

पोखरा । पोखराका पर्यटन व्यवसायीहरुद्वारा सञ्चालित सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.ले ऋणको ब्याजदर घटाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेपछि सहकारीले ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए ।

‘यतिबेला कोरोना भाइरसका कारण पर्यटन क्षेत्रले धेरै क्षति ब्यहोर्नुपरेको छ,’ उनले भने, ‘थोरै भएपनि व्यवसायीलाई राहत होस भन्ने उद्देश्यले ऋणको ब्याजदर घटाउने निर्णय गरिएको हो ।’

बिहीबार बसेको सञ्चालक समितिको बैठकले व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्य अनुसार यस अगाडि प्रदान गरिएको ऋण र नयाँ ऋण दुवैमा लागु हुने गरी ब्याजदर घटाउने निर्णय गरिएको सचिव सोम थापाले जानकारी दिए । सहकारीमा १ हजार ३ सय जना सेयर सदस्य छन् । सहकारीले १७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

यस अगाडि १४ देखि १६ प्रतिशतसम्म व्याज लिने गरिएकोमा अब १२ देखि १४ प्रतिशतसम्म व्याज लिइने सहकारीले जनाएको छ ।

You might also like

Comments are closed.