wada auto show

फिस्टेल डेरीको उत्पादन ‘नोभा’ उपभोक्तामाझ लोकप्रिय छः ध्वजू

सुरेश कुमार ध्वजू, अध्यक्ष, फिस्टेल डेरी

पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरीले नोभा ब्राण्डमा दूध, दही, नौनी, पनिर, ध्यू, आइसक्रिम लगायतको उत्पादन र बजारीकरण गर्दै आइरहेको छ । फिस्टेल डेरी गण्डकी प्रदेशकै ठूलो डेरी उद्योगहरुमध्येमा पर्छ । यसैक्रममा डेरीका अध्यक्ष सुरेशकुमार ध्वजूसँग दुग्ध दिवसको अवसरमा आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

फिस्टेल डेरीका कुन–कुन उत्पादन बजारमा पुगिरहेको छ ?
वि.स. २०६४ साल मंसिर २९ गतेबाट हामीले यो उद्योग सञ्चालन गरेका हौं । शुरुमा हामीले दूध र दहीको मात्र उत्पादन र बिक्री गर्दथ्यौं । बिस्तारै दूध र दहीसँगै नौनी, पनिर, ध्यू, आइसक्रिम लगायत प्रडक्टको पनि उत्पादन र बिक्री गरिरहेका छौं ।

फिस्टेलका उत्पादन कहाँ–कहाँ पुग्छ ?
हाम्रो उत्पादनहरु पोखरा, लेखनाथ, तनहुँ, लमजुङ, गोर्खा, चितवन, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पालगायतका जिल्लामा पुग्ने गरेका छन् । पाल्पा, नवलपरासी, चितवन, तनहुँलगायतका स्थानबाट हामीले दूध संकलन गर्दछौं । नोभा ब्राण्डबाट हामीले दूध, दही आइसक्रिम, पनिर बिक्री गरिरहेका छौं । हामीले यो ब्राण्डलाई राष्ट्रियस्तरमा चिनाएका छौं । काठमाडौंमा पनि यो ब्राण्ड परिचित छ ।

फिस्टेलका उत्पादनप्रति उपभोक्ताको आकर्षण कस्तो छ ?
हामी स्वास्थ्यप्रति संवेदनशील छौं । गुणस्तरीय उत्पादनमा जोड दिन्छौं । हामीले आइसक्रिमको नयाँ भेराइटीहरु पनि बजारमा ल्याएका छौं । उपभोक्ताले हाम्रो उत्पादनलाई मन पराउनुभएको छ । दूध तथा दही पुगेको ठाउँमा आइसक्रिम पनि पुग्छ । ताजा र स्वच्छ दूधलाई प्रशोधन गरेर उपभोक्ता माझ पठाउँछौं । पोखरामा मात्र करिब ५ सयभन्दा बढी पसलले हाम्रो उत्पादन बिक्री गर्दछन् ।

हाम्रो उद्देश्य भनेको उपभोक्ताको मागअनुसाका सामान उत्पादन गर्ने हो । गुणस्तरियता र स्वच्छता हामीले कायम गरेका छौं । अन्तर्राष्ट्रियस्तरका तथा उच्च गुणस्तरिय सामान उत्पादन गर्दै आएका छौं । हाम्रो उत्पादन प्रयोग गर्ने उपभोक्ताबाट हामीले राम्रो र सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।

डेरी सञ्चालन गर्दा सुरुको अवस्था कस्तो थियो ?
सुरुमा लगानी गर्दा साथीभाइ मिलेर थोरै लगानीमा गरेका थियौं । पहिले दैनिक ४/५ सय लिटर मात्र उत्पादन गर्दथ्यौं । उपभोक्तको मागअनुसार उत्पादन बढाउँदै लगेका छौं । बजारको मागअनुसार हामीले उत्पादनलाई पनि बढाउँदै ल्याएका छौं ।

बजारमा दूधको माग कस्तो छ ?
नेपाली किसानबाट ल्याइने लोकल दूधको उत्पादन र उपभोक्तको माग ठिक उल्टो छ । गर्मीमा दही तथा आइसक्रिमको प्रयोग बढी हुन्छ र दूधको माग पनि बढी हुन्छ । जाडो समयमा दही तथा आइसक्रिमको प्रयोग कम हुने हँुदा दूधको माग पनि कम हुन्छ । नेपालमा जाडो समयमा बढी दूध उत्पादन हुन्छ ।

पोखरा क्षेत्रमा डेरीको अवस्था कस्तो छ ?
पछिल्लो समय यस क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । सानो ठुला गरी १५ भन्दा बढी उद्योगहरु सञ्चालनमा छन् । उपभोक्ताको माग धान्न सक्ने गरी दूध बजारमा पुगिरहेको छ । डेरीबाट हजारौंले रोजगारी पाइरहेका छन् भने स्वच्छ दूध खान पाउने उपभोक्ताको अधिकार पनि पूरा भइरहेको छ ।

You might also like

Comments are closed.