काठमाडौं । काठमाडौं स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिजको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्यनारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।
नेपालको दूध उत्पादन उद्योगको रुपमा उत्कृष्टता प्रमाणित गर्दै दूध तथा दुग्धजन्य पदार्थ दहि, घ्यू, चकलेट र पनिर लगायतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यका साथ स्थापना भएको स्वस्तिक एग्रो इण्डष्ट्रिज नेपालमा एक रुचाइएको नाम बन्न सफल भएको छ ।
स्वदेशी उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने र उपभोक्ताका लागि “गोठ देखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्धजन्य परिकारहरु उपलब्ध गराउने कम्पनीको उद्धेश्य रहेको छ ।
हाल धनुषाको गोदारस्थित २ बिघा जग्गामा जर्सी, होल्स्टोन गाईबाट दूध उत्पादन तथा बजारीकरण कार्य भइरहेको छ । उन्नत गाईबाट दैनिक २०० लिटर भन्दा बढी दूध उत्पादन गरी बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । आगामी दिनमा गाईको संख्या १०० पु¥याउने कम्पनीको भनाइ छ ।
कम्पनीले आगामी दिनमा प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको छ ।
Comments are closed.