पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा पदयात्रा प्रवर्द्धनमा सक्रिय बनेको छ । यसैक्रममा मादीगाउँपालिका कास्कीको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा २०७७ माघ ३ गतेबाट ८ गतेसम्म ५ रात ६ दिनको ताङतिङ, क्रपुडाँडा, क्होलार्सोंथर, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान तथा खोज एवं प्रबर्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
यो ट्रेक प्रवर्द्धनका लागि टानका प्रतिनिधि, मादीगाउँपालिका प्रतिनिधिहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पत्रकारहरु, पेशागत पथप्रदर्शक, स्थानीय प्रतिनिधीहरु, स्थानीय पर्यटन व्यवसायीहरु सहितको सहभागिता थियो । पदयात्रा खोज, अध्ययन तथा प्रवर्द्धनको नेतृत्व टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले गरेका थिए ।
नेपालको पर्यटनको प्रमुख हिस्सा ओगटने पदयात्रा पर्यटन बिगत केही समययता विविध विषम अवस्थाका कारण धारासाही हुँदै गइरहेको र नयाँ बैकल्पिक पदमार्गहरुको खोजी, पुराना पदमार्गहरुको प्रवर्द्धन र संवद्र्धन हुन नसकेको अबस्थामा टान पोखराले नयाँ गन्तव्यको खोज गरी आवश्यक प्रवर्द्धन गर्ने उद्देश्यले यो पदमार्गको खोज गरिएको अध्यक्ष पौडेलले बताए ।
भौगोलिक एवं सांस्कृतिक विविधताको पहिचान एवं विभिन्न जातजाति, भेषभुषा, रहनसहन, कलासंस्कृति र सम्पदाहरुको समिश्रणको सुन्दरताको पहिचानको संरक्षण, प्रवर्द्धन र मुल्याङक गरि पदयात्रा क्षेत्रहरुलाई “पदयात्रा संरक्षण क्षेत्र”को रुपमा विकास गरि पेशा व्यवसाय र पर्यटन जोगाउदै अधिकतम रोजगारीका अवसरहरु सृजना गरि “ट्रेकिंङ हेरिटेज एरिया” र “पदयात्रा मार्गहरु बचाऊ”को अबधारणमा विकास गर्न यसको प्रवर्द्धन गर्न लागिएको उनले बताए ।
Comments are closed.