सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’

व्यवसायीको नजरमा टान नेतृत्व कस्तो ?

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीले आ-आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेर व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । अध्यक्षका प्रत्यासीले व्ययसायीमाझ टान नेतृत्वमा पुगेको खण्डमा आगामी कार्ययोजनाको खाकाको फेहरिस्त प्रस्तुत गरेर माहोल आफ्नो पक्षमा बनाउन दौडधुप गरिरहेका छन् ।

निर्वाचनमा आकाङ्क्षीले चुनावी एजेण्डा व्यवसायीमाझ पस्किइरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायी रहेका छन् । उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा यो क्षेत्रको सुधारका लागि टेवा पुग्ने विश्वास लिएका छन् ।

टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म चार प्रत्यासी चुनावी अभियानमा छन् । वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले टान नेतृत्वका लागि आकाङ्क्षा देखाएका छन् । अध्यक्षका प्रत्यासीले व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।

अध्यक्षका प्रत्यासीमध्येका पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले टान नेतृत्वमा पुगेको खण्डमा टानलाई पूर्ण व्यावसायिक हितका लागि काम गर्ने प्रभावकारी संस्थाको रूपमा स्थापित गर्दै पर्वतीय पर्यटन विकास र प्रवर्द्धनमा आफूलाई सक्रिय बनाउने बताए।

टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रूपमा विकास गर्ने योजना सुनाएका बाँस्तोलाले पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानव स्रोतसाधनयुक्त बनाइने बताए। उनले भने, “पर्यटन क्षेत्रलाई गुणस्तर अभिवृद्धि गर्न जरुरी छ। बिजनेस दर्ता गरेर मात्रै सम्भव हुँदैन । त्यो व्यवसायी व्यवसाय गर्न सम्भव छ कि छैन। पदमार्गमा कुनै पदयात्री कुनै पनि खाले समस्यामा परेर सहयोग खोजेको अवस्थामा टानले सहजीकरण गर्ने वातावरण हुनुपर्छ ।”

अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको बताए। उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउने विश्वास व्यक्त गरे । सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए।

अध्यक्षका प्रत्यासी कमल सापकोटाले पर्वतीय पर्यटनको विकास एवं प्रवर्द्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने योजनासहित टान नेतृत्वमा जान चाहेको बताए । पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी बोधराज भण्डारीले टानका साधारण सदस्यप्रति उत्तरदायी भएर काम गर्ने विश्वास व्यक्त गरे ।

आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय सदस्य रहेका छन् ।

टानमा इ–लाइबेरी बनाइने
व्यवसायी बाँस्तोलाले व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताब, फोटो, भिडियोलगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ–लाइबेरी स्थापना गर्ने योजना रहेको बताए। “टानले अहिलेसम्म डाटाबेसमा खेलेको छैन । यो समयको माग हो, आजको आवश्यकताअनुसार कुन देशबाट कति पर्यटक भित्र्याउने भन्ने भिजनका साथ अघि बढ्नुपर्छ ।”

व्यवसायी बाँस्तोलाले विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा जोड दिए। उनले भने, “विदेशी पर्यटक नेपाल भित्रने कुन देशमा कस्तो बजारीकरण आवश्यक छ। देशीय गन्तव्यवाइज बजारीकरण गर्नका लागि व्यवसायीसँग छलफल गरेर कार्यक्रम कार्यान्वयन गरिनुपर्छ ।”

टान प्रादेशिक संरचनामा
टान अझै पनि प्रादेशिकरूपमा जान नसकेको भन्दै व्यवसायी बाँस्तोलाले टानलाई प्रादेशिक संरचनामा लगेर व्यवसायीलाई मतदानको अधिकारको सुनिश्चित गर्न जररी रहेको उल्लेख गरे । उनले टानलाई प्रादेशिकरूपमा व्यवस्थापन गर्दै समयसापेक्ष देशव्यापीरूपमा विकास गरी पदमार्गको पहिचान र प्रवद्र्धन गर्न नयाँ कार्यसमितिले काम गर्ने विश्वास व्यक्त गरे ।

व्यवसायीको नजरमा टान नेतृत्व कस्तो ?
टानका पूर्वअध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्न सक्ने नेतृत्व अहिलेको अपरिहार्य भएको बताए। अध्यक्षका प्रत्यासीमध्ये बाँस्तोला सफल पर्यटन व्यवसायी, पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा लगानी गरेर स्थापितरूपमा चिनिएको नाम भएकाले टान नेतृत्वका लागि उपयुक्त रहेको जिकिर गरे ।

टानको आन्तरिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउँदै समस्याको पहचिान गरी सरोकारवालासँग समन्वय गरेर समाधान गरिनुपर्ने व्यवसायीको धारणा छ । लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापन गर्ने बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरूले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले महामारीले सुस्ताएको पर्यटन व्यवसायमा उत्साह भर्ने निर्भिक र जिम्मेवार नेतृत्व टानलाई आवश्यक भएको बताए। उनले पर्यटन क्षेत्रको अनुभव र विज्ञताका आधारमा नेतृत्व चयन गरिनुपर्ने औँल्याए।

पर्यटन व्यवसायी निमा शेर्पाले टानलाई व्यवसायीको हितमा काम गर्ने संस्थाको रुपमा स्थापित गर्न सही नेतृत्व चयन गरिनुपर्ने खाँचो औँल्याए। काठमाडौं एडभेन्चर ट्रेक्सका प्रबन्ध निर्देशक एक्सपेन्सन दाहाल पनि नयाँ नेतृत्वले टानलाई संस्थागत सुदृढीकरण र गतिशील बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.