बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु

तनहुँ । गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ ।

नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास-५ को पाटनमा एक सय दुई मिटर र व्यास-३ को भतेरीमा दुई सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।

व्यास-५ पाटनका छ सय ६३ र व्यास व्यास-३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए । पाटनतर्फ तीन सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा एक सय दुई मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएका थिए । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

वैशाखमा टेण्डर भए पनि वर्षायाम सुरु भएकाले अहिले आएर निर्माण कार्य सुरुआत गरिएको हो । दुई महिनाभित्र निर्माण काम सम्पन्न गर्नेगरी एमआर एण्ड गु्रप प्रालीले निर्माणको जिम्मा पाएको छ ।नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बसेर कटाउनुपरेको उनले पीडा सुनाए ।

अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकूल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माध्यमिक विद्यालयलगायत क्षति हुने देखिएको छ ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ । नगरपालिकाले मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न संघ सरकारबाट बजेट विनियोजन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

गत वर्ष रु पाँच करोड र यस वर्ष रु २९ करोड बजेट विनियोजन गरिएको छ । उनले भने, “बर्सेनि नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भइरहेको छ ।”

You might also like

Comments are closed.