एक घर एक धारा अभियान तीव्र

कृष्ण न्यौपाने, दमौली । तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरै धारा आएपछि हर्षित छन् ।

अभियानअन्तर्गत वडा नं–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ । समुन्द्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित उक्त गाउँमा अलैची खानेपानी योजना निर्माण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको ६२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ ।

गत वर्षदेखि निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना सङ्क्रमणका कारण केही समय ढिला भएको थियो । “कोरोना न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीमा पनि उपभोक्ताबाट निरन्तर काम भएको थियो,” उनले भने, “घरघरमै खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुसी छन् ।” घरघरमै धारा जडान भएको खुसीयालीमा उनीहरूले नाचगानसमेत गरेका छन् ।

धारा नहुँदा यहाँका बासिन्दालाई खानेपानीका लागि कुवा र पधेराको भर पर्नुपर्दा बिहानैदेखि पानीको जाहो गर्नुपर्ने चिन्ता हुन्थ्यो । अहिले घर घरमै धारा पुगेपछि अब उनीहरूलाई उक्त चिन्ता हटेको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खानेपानीको सुविधा नपुगेका हरेक घरमा पानी पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र सुविधा नपुगेका ठाउँमा एक घर एक धारा अभियान सञ्चालन गरिएको उनको भनाइ थियोे ।

गण्डकी प्रदेश सरकार, गाउँपालिका, पश्चिम नेपाल निर्वाचन क्षेत्र विकाश कार्यक्रमलगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पु¥याउने अभियान सञ्चलन गरिएको हो । हालसम्म गाउँपालिकाका एक हजार ७ सय घरधुरीमा एक घर एक धारा पुगेको र ४ सय ५० घरधुरीमा धारा पुग्ने तयारीमा छ ।

घिरिङ गाउँपालिका–१ स्थित पल्लो गढीगाउँ, पोख्रेलटोल, लामादी, खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली पुट्टारमा खानेपानीको काम भइरहेको छ ।

प्रादेशीक भौतिक पूर्वाधार विकास मन्त्रालयको दश करोड ६० लाख ६७ हजार ९ सय ९ रुपैयाँको लागतमा पाँच वटा योजना निर्माणाधीन अवस्थामा छन् । प्रथम योजनाअन्तर्गत कटहरेमा दुई करोड पाँच लाख ८३ हजार एक १ सय १९ रुपैयाँ, दोस्रो योजनाअन्तर्गत पुट्टारमा दुई करोड १४ लाख ६८ हजार ६ सय २१, तेस्रो योजनाअन्तर्गत बैडीमा चार करोड आठ लाख १३ हजार ४ सय २४ रुपैयाँ, चौँथो योजनाअन्तर्गत भन्टारमा ५९ लाख १ सय ४ रुपैयाँ र पाँचौँ योजनाअन्तर्गत अत्रौलीमा एक करोड ७३ लाख दुई हजार ६ सय ४० रुपैयाँ को लागतमा खानेपानी योजना निर्माण हुँदैछ ।

वृहत खानेपानी योजनाबाट ५ सय ९७ घरधुरी लाभान्वित हुने भएका छन् । डिभिजन खानेपानी कार्यालयका अनुसार कटहरेका ८६, पुट्टारका ८५, बैडीका २ सय ४२, भन्टारका ३९ र अत्रौलीका १ सय ४५ घरधुरी लाभान्वित हुनेछन् ।स्थानीयवासीले दश प्रतिशत श्रमदान गर्नुपर्ने यी सबै योजना विसं २०७९ असार २४ सम्म सम्पन्न गर्र्नुपर्ने संझौतामा उल्लेख छ ।

घिरिङ–२स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।

घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासका प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सो योजना सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.