वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले एक खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कुन शीर्षकमा कति राजश्व
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ ४१ अर्ब तीन करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार रुपैयाँ र भन्सार महसुल निर्याततर्फ एक करोड ३२ लाख १९ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार रुपैयाँ र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ सात अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय वीरगञ्जले जनाएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ १४ करोड ६८ लाख ९० हजार रुपैयाँ , स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार, कृषिसुधार शुल्कतर्फ ७३ करोड ६३ लाख ७६ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ दुई अर्ब ३९ लाख ९५ हजार रुपैयाँ राजस्व र अन्य आय शीर्षकमा पाँच करोड ५७ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालु आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।
विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
Comments are closed.