कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट डेढ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट एक करोड ७१ लाख ९७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५ सय १ सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
त्यस्तै उक्त अवधिमा भन्सार छली गरी ल्याएको एक करोड ३४ हजार ५ सय ६४ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद गरिएको र सो कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व कार्यालय बाँकेमा पठाइएको प्रवक्ता खड्काले बताए । उनका अनुसार उक्त अवधिमा यो प्रदेशमा २ सय ३ सवारी दुर्घटना हुँदा १ सय १८ जनाको ज्यान गएको छ भने ५ सय १५ घाइते भएका थिए ।
Comments are closed.