काठमाडौंको तापक्रम १.६ डिग्री, जुम्लाको माइनस ७

 

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा शुक्रबार वर्षकै न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत वर्ष पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री रहेकामा यस वर्ष १ दशमलव ६ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए । “कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौँको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भने । तापक्रम घटेपछि काठमाडौं उपत्यकामा बढी चिसो महसुुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव ० डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

You might also like

Comments are closed.