टीका प्रसाद घिमिरे
अध्यक्ष,नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेश
वाग्मती प्रदेशमा दूध तथा दूधजन्य पदार्थको अवस्था कस्तो छ ?
वाग्मती प्रदेश देशको ठूलो प्रदेश हो । यहाँ सबैभन्दा धेरै जनसंख्याको वसोवास गर्ने र देशको राजधानी भएकोले धेरै मानिसको आउजाउ हुने मुख्य सहर हो ।दूधको सबभन्दा बढी खपत हुने र उत्पादन हुने पनि वाग्मतीमै हो । वाग्मतीमै रहेको काभ्रे र जितवन जिल्ला दूधमा आत्मनिर्भर भएको घोषणा पनि धेरै पहिला गरिसकेका हुन् । अरु जिल्ला पनि आत्मनिर्भर उन्मुख छन् । यो प्रदेशमा अन्य अरु प्रदेशबाट पनि त्यतिकै मात्रामा दूध ल्याइन्छ । देशभरिको डाटा हेर्दा यहाँको खपत लगभग ३० प्रतिशत छ । देशका सबभन्दा ठूला डेरी उद्योग पनि यहि प्रदेशमा छन् । साधन स्रोतको हिसाबले हेर्दा पनि यो प्रदेश सम्पन्न छ । समग्रमा हेर्दा दुधमा यो प्रदेश अग्र स्थानमा रहेको छ ।
नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेशले किसानसँग कसरी सहकार्य गरेको छ ?
उद्योग र किसानको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । यी दुई एक अर्काका परिपूरक हुन् । एकलाई अर्को नभैइ संचालन हुन नै सकिँदैन । त्यसकारण एकले अर्काको सम्मान नै गरेको पाइन्छ । किसाननै दूध उत्पादनमा पहिलो खुट्किला भएको नाताले किसानको हितमा सरकार र उद्योगले काम गर्नुपर्ने देखिन्छ । बेलाबेला विविध कारणले गर्दा किसान पेशाबाटै पलायन भएको पाइन्छ । त्यो अवस्था आउन नदिन सरकारले विशेष महत्व दिनुपर्यो भने उद्योगले सरकारलाई रायसुझाव दिई अगाडि बढ्नुपर्ने हुन्छ । जबसम्म किसानले दूध उत्पादनमा लाग्न सक्दैनन् तबसम्म हामी दूधमा आत्मनिर्भर हुन सक्दैनौं । अहिलेसम्म हाम्रो देश दूधमा ८० प्रतिशत आत्मनिर्भर भएको छ । ६२ लाख लिटर दूध दैनिक उत्पादन हुन्छ भने ३१ लाख लिटर मात्र अहिलेसम्म बजारमा आउँछ भने बाँकी ५० प्रतिशात ३१ लाख लिटर दूध बजारसम्म जोडिन सकेको छैन । अब हाम्रो प्रयास भनेको त्यो दूधलाई कसरी बजारिकण गर्न सन्किछ भन्ने हुनुपर्छ । हो हामीले किसानमा देखिएका समस्या हल गर्न र गुणस्तर कायम गर्ने कुरामा सहकार्य गर्न जरुरी छ ।
किसानको समस्या कसरी हल गर्न सकिन्छ ?
किसान नै पहिलो प्राथमिकतामा पर्ने हुँदा किसानका समस्या हल गर्न राज्यलाई हामीले बारम्बार घचघच्याउने काम गरेका छौं । अहिले किसानको मुख्य समस्या भनेको १२ महिना दूध बेच्न पाउने ग्यारेन्टी नहुनु, लागत अनुसारको मूल्य नपाउनु , कहिलेकाहीँ उद्योगले समयमा भुक्तानी नदिनु , उच्च नश्चलका बस्तु नहुनु, थारा गाईको उचित ब्यवस्थापन गर्न नसक्नु नै हुन् । हो, हामीले आजको आजै यि समस्या हल गर्न सक्दैनौं तर हामीले प्राथमिकताका आधारमा सरकारलाई बेला बेलामा राय सुझाव दिने र हामी आफैंले सक्ने समस्या हल गर्न लागिपर्नु पर्छ । तर विडम्बना कृषिमा गत वर्षकोभन्दा झन्नै ११ अर्व बजेट बढ्दा पनि दुग्ध क्षेत्रमा खासै यही यसो नै भनेर प्रष्ट आउन सकेको देखिन । आशा छ अब प्रस्तुत हुने अरु निकाय प्रदेश अनि स्थानीय बजेटमा प्रष्ट आउने छन् ।
चार प्रकारका डेरी भनेको के हो र कति छन् ?
नेपाल सरकारले डेरीलाई चार प्रकारले घरेलु, साना, मझौला र ठूला भनेर ब्याख्या गरेको छ । अहिले सबैभन्दा ठूलो संख्यामा घरेलु डेरी करिब देशैभरिको कुरा गर्दा ६/७ हजार जति छन् । साना डेरी करिव १०० को हाराहारी , मझौला डेरी करिव ६०/७० वटा जती अनि ठूला डेरी उद्योग पनि अहिले नेपालमा ५० वटाको हाराहारीमा छन् । घरेलु डेरीले भने अहिले आफैंले प्रशोधन गरेर भन्दा पनि अरु डेरीसँग सहकार्य गरेर सामान बेच्ने गरेको धेरै छन् । एउटा आँखाले घरेलु डेरीलाई समस्याको रुपमा हेरिन्छ भने अर्को आँखाले हेर्ने हो भने यी घरेलु डेरीले सबैको मन जितेको पाइन्छ । किसानले राम्रो मूल्य समयमा भुक्तानी पाएका छन् । उपभोक्ताले टोलटोलमा १८ घण्टा सुविधा पाएका छन् । हिजोको दिनमा बेलुका ७-८ बजेपछि दूध पाउन गार्हो थियो। दुग्ध पदार्थ पाउन त झनै कठिन थियो । तर आज टोलटोलमा रहेका घरेलु डेरीले जुनसुकै समय जति चाहिए पनि उपलब्ध गराइरहेका छन् । त्यसैले अब खुल्ला र अप्रशोधित दूध बजारमा बिक्री भयो भन्ने कुरालाई विस्तार यी डेरीलाई ब्यवस्थापन गर्दै जाने हो भने धेरै राम्रो हुने देखिन्छ । अब यसको ब्यवस्था जसले जिम्मेवारी लिएर गर्न सक्छ बजार उसैको हुनेछ।
नेपालमा डेरी उद्योगको समस्या के के छन् ?
दूध एक अति नै संबेदनसिल खाद्य वस्तु हो भन्ने कुरा हामीलाई थाहा छ । यसको जीवन अत्यन्तै कम हुन्छ भन्ने पनि थाहा छ । तर विडम्बना भन्नुपर्छ हाम्रो देशको भौगोलिक अवस्था अत्यन्तै दया लाग्दो छ । सबै ठाउँमा बाटो छैन, बिजुली छैन, उन्नत जातका धेरै दूध दिने गाईभैंसी छैनन् । भौगोलिक अवस्थाका कारण उत्पादन भएको दूध बजारमा ल्याउन सक्ने सम्भावना छैन । यो पेशा गर्न चाहाने मान्छेलाई आवश्यक भौतिक कुरा, आर्थिक व्यवस्थापन, प्राविधिक सुविधा, काम गर्ने दक्ष कामदारको सबैलाई अभाव छ । अब हामीले यी र यस्ता कुराको व्यवस्थापनमा लाग्नु पर्ने देखिन्छ । आशा छ हामीले बेला बेलामा दिएको राय सुझावलाई मनन गरी काम गर्दा पनि धेरै समस्या हल गर्न सकिने देखिन्छ । नीतिगत समस्या पनि धेरै छन् । ती समस्या राज्यले हल गरी आयातित दूध तथा दुग्ध पदार्थभन्दा स्वदेशी उत्पादनलाई प्रमोशन हुने गरि काम गर्दा सबैको हित हुन सक्छ ।
Comments are closed.